विपद् व्यवस्थापनको निर्णय विपरित राहत सामग्री अन्तै दिएको स्थानीयको आरोप
भाद्र १९, किउल (सिन्धुपाल्चोक) । जिल्ला विपद ब्यवस्थापन समितिको कमाण्ड पोष्ट सिन्धुपाल्चोकले हेलम्बु गाउँपालिकालाई दिएको टेण्ट समन्वय प्रमुखले आफुखुसि वितरण गरेको बोल्देका स्थानीयको आरोप छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले हेलम्बु गाउपालिका ५ स्थित बोल्देमा पहिरोको कारण जोखिममा रहेका घरपरीवारको लागि जिल्ला बिपद ब्यबस्थापन समितिबाट दिएको १५ थान टेण्ट आफुखुसि वितरण गरेको उनीहरुको भनाई छ । स्वयम समन्वय प्रमुख तामाङ सहभागि भएको भदौ १७ गतेको कमाण्ड पोष्ट बैठकले १५ थान टेण्ड हेलम्बु गाउँपालिकालाई दिने निर्णय गरेको थियो । निर्णयर्मा हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्देमा पहिरोको कारण जोखिममा रहेका घरपरिवारहरुको अस्थाई वसोवासको ब्यवस्था मिलाउन जिल्ला विपद् ब्यवस्थापन समितिको नेपाली सेना गोरख वक्स गणमा रहेको स्टोरबाट १५ थान टेण्ट हेलम्बु गाउँपालिकालाई उपलब्ध गराउने भनिएपनि अन्तै पठाईएको उनीहरुको दावी छ ।
समितिले पठाएको टेण्ट आफु निकटका मान्छेलाई बोलाएर बाडेको जानकारी आएको तर पालिकालाई कुनै सुचना नदिएको हेलम्बु गाउँपालका अध्यक्ष निमा ग्लाल्जेन शेर्पाले जानकारी दिए ।
पालिका स्तरीय विपद ब्यवस्थापन समिति मार्फत प्रभावित सम्म पुग्नुपर्ने राज्यको स्रोतको समन्य प्रमुख जस्तो ब्यक्तीले चरम दुरुपयोग गरेको पालिका अध्यक्ष शेर्पाले आरोप लगाए । राहत बितरणमा एकद्वार प्रणालीबाट दिनु पर्ने निर्णयकै खिल्ली उडाएको उनको तर्क छ । ‘बोल्दे पीडितलाई म आफैं लगिदिन्छु भनेर हामीलाई थाहा नै नदिई अाफ्नै कार्यकर्तालाई दिनु भएछ’ पालिका अध्यक्ष निमाले भने । गाउँपालिकाले कसलाई दिने भनेर निर्णय गर्नुपर्ने नियम भएपनि समन्वय प्रमुखले ब्यक्तीगत स्वार्थ राखेको पालिकाको भनाई छ । हेलम्बु गाउँपालिकाले भदौ ७ गते बोल्देका ४० घरधुरीको लागि बसोबासको ब्यवस्थापन गर्न आवस्यक सहयोगका साथै बस्ती स्थानान्तरण गरीदिन जिल्ला प्रशासन कार्यालयमा माग गर्दै पत्र लेखेको थियो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले समन्वय प्रमुखले उक्त टेण्ट पालिका अध्यक्षलाई बुझाउँछु भनेर लगिएको उनले जानकारी दिए ।
यस सम्बन्धमा जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङसंग बुझ्दा उनले आफुले कुनै गल्ति नगरेको बताए । ‘त्यो टेन्ट पीडितकै हातमा पुगेको हो । पालिकाअध्यक्षले फोन नउठाएपछि स्थानीयलाई छोडेका हौ’ जिल्ला समन्वय प्रमुख तामाङले भने । पालिकाले पीडितको लागि टेन्ट नमागिएको बरु स्थान्तरणको माग राखेपनि आफुहरुले बोल्दे पीडितलाई टेन्ट दिन पर्छ भनेर निर्णय गरेको उनले दावी गरे ।