सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालवालिकाेे संरक्षण गरिने

चाैतारा, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरिने भएकाे छ । बालबालिकाकाे शिक्षा र बसोबासको व्यवस्था एसओएस बालग्रामले मिलाउने भएको हाे । एसओएस काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडा अध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएका थिए । एसओएसले मंगलबार देखि बालवालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको वडाअध्यक्ष प्रताप लामाले जानकारी दिए ।

लिदीका अभिभावक गुमाएका १२ बर्ष मुनीका पाँच जना बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन सुरु गर्ने निर्देशक अमगाईले जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिने लगायतका विषयमा मंगलबारनै छलफल भएको थियाे ।
बाँकि १२ बर्ष माथिका ७ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने अमगाईले जानकारी दिए । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उनको भनाई छ । यहि भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए ।
गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ ।