
सभामुख सापकोटा बाँसखर्क पुग्दा पहिरो पीडितको आँखा यसरी रसाए

निर्मल बस्नेत
भदौ ११, बाँसखर्क (सिन्धुपाल्चोक) । ३९ जनाको ज्यान लिएको लिदी पहिरोको त्यो त्रासदीपूर्ण दिनलाई लिदीका ३२ वर्षीय युवराज तामाङले अझै भुल्न सकेका छैनन् । साउन ३० गते बिहान भएको त्यो त्रासदीपूर्ण घटना उनको दिमागमा अझै रिल झै घुमिरहेको छ । जायजेथा सारा सम्पति त उनको रित्तियो नै सबै भन्दा प्रिय छोराछोरी, श्रीमति लगाएत परिवारनै गुमाउनु पर्दाको पिडा चानचुने छैन् । सबै गुमाएर आफु मात्रै बाँचिनुलाई सौभाग्य ठान्दैनन् युवराज । १ आमा, २ बहिनी, १ भाई, श्रीमती र १ छोरा गुमाएका युवराज तामाङ भन्छन् ‘पहिरो जाँदा म सेलाङमा भएको कारण बाँच्न सफल भएँ तर आफु मात्रै बाँच्दा बढी पीडा हुँदो रहेछ ।’ गाउँ पुग्दा पहिरोले परिवारको ६ जना पुरिसकेको अवस्थामा त्यतिबेला आफूले केही पनि सोच्न नसकेको उनी बताउँछन् । युवराजकाे १० जनाको परिवार रहेकोमा ६ जना पहिरोमा पुरिएर अब ४ जनामात्र बाँकी छन् । ‘मर्ने त मरेर गईहाले बाँच्नेलाई पनि गाउँमा बस्ने कुनै आधार छैन’, युवराजले भने । त्यति भनिरहँदा उनको आँखाबाट आँशु टिलपिलाई रहेको थियो । ‘हामीहरुलाई सरकारले अन्य सुरक्षित स्थानमा सारिदिए हुन्थ्यो’, अर्का पीडित नेमाछिरिङले भने । युवराज जस्तै नेमाछिरिङ दोङको पनि पीडा उस्तै छ । उनले पनि आमा, श्रीमती र छोरा गरि ३ जना गुमाएका छन् । उनि भने झ्यालबाट हामफालेर बाँच्न सफल भएको बताउछन् । भाग्दाखेरी उनलाई हातको कुहिनोमा चोटलागेको थियो । प्राथमिक उपचार पछि उनी ठीक भए । त्यस्तै साङबो दोङले पनि श्रीमती र छोरा गुमाए । अब उनीसंग १ छोरा र १ छोरीमात्र छन् । दोङले भने, ‘मृतक परिवार र बिस्थापितको लागि जो जसले जति सहयोग गर्नुभएको छ हामी आभार प्रकट गदैछौँ ।’ तर स्थायी बासस्थान खोजिदिनु पर्ने उनीहरुको माग छ ।
बिस्थापित मध्येका साङबो दोङका अनुुसार बुधबार सम्म लिदीबाट बाँसखर्कमा १ सय ५० घरधुरी आईसकेका छन् । आफ्नो थातथलो छाडेर उनीहरु ११ घण्टाको पैदल यात्रापछि सेलाङको बाँसखर्क आईपुगेका हुन् । लिदी पहिरो पीडितलार्ई अस्थाई बसोबास र राहतले मात्र नपुग्ने उनीहरुको भनाई छ । ‘अहिले टेण्ट भित्र खाना पकाएर खान मिल्दैन ३ वटा समूह वनाएर सामूहिक भान्सा चलाएका छौँ’, साङ्बो दोङले भने । ‘हामीलाई २०७२ सालको भूकम्पले पनि समूहमा बसाएको थियो हाल पहिरोले पनि उस्तै स्थीतीमा ल्याईदियो’, उनले थपे ।
पीडितहरुको व्यथा र माग सुनेपछि सभामुख अग्निप्रसाद सापकोटाले लिदीबासीको लागि नमुना कामको थालनी सिन्धुपाल्चोक बाटै हुने बचन दिए ।
लिदी पहिरो पीडितहरुको एउटै माग थियो, ‘हामीलाई स्थाई स्थानान्तरण चाहियो ।’ सो मामिलामा राहत सामग्रीसहित बुधवार बाँसखर्क सभामुख सापकोटाले लिदी पहिरोको सवालमा आफू सदैव लागि पर्ने प्रतिवद्वता जनाए ।
राहत सामग्री हस्तान्तरण तथा पीडितसंगको भेटघाटमा सभामुख सापकोटाले दिवंगतहरुप्रति श्रदाञ्जली, घाईतेहरुप्रति सिघ्र स्वस्थ्यलाभको कामना र परिवारजनमा गहिरो समबेदना व्यक्त गरे । उनले भने, ‘ँहामीले अहिले माँयाको चिनो मात्र लिएर आएको छौ, अरु गर्न बाँकी धेरै छ ।’ त्यस्तै अविभाबक गुमाएका १४ बालवालिकाको शिक्षादिक्षाको लागि आफूले आवश्यक प्रवन्धको जिम्मा लिने सभामुख सापकोटाले बचन दिए ।
सापकोटाले भने, ‘७७ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला बिपद् व्यवस्थापनमा नमुना बनाउने उच्चस्तरको राष्ट्रिय सहमती भएको छ, उक्त कामको थालनी सिन्धुपाल्चोकबाटै हुनेछ ।’ सापकोटाले जिल्लाको समग्र बिपद् अवस्थाको बारेमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षन गर्ने प्रतिबद्धता समेत जनाए ।
सापकोटाले अस्थाई बसोवासको लागि सामग्री, निर्माण औजारहरु, भाँडावर्तन, न्यानो कपडा, स्वास्थ्य र सरसफईका सामग्रीहरु पीडितहरुलाई हस्तान्तरण गरेका छन् । राहत सामग्री गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठमार्फत हस्तान्तरण गरेका हुन् । त्यस्तै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको बाढीपहिरो पीडितको लागि पनि सापकोटाले बन्देउमा राहत सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै बैकल्पीक उर्जा प्रवर्धन केन्द्रबाट ४ वटा बत्ति बाल्न मिल्ने १ सय थान सोलार ४ वटा बत्ति बाल्न मिल्ने प्रदान रहेको छ । उक्त सोलार केन्द्रका मधुसुधन अधिकारीले गाउँपालिका अध्यक्षमार्फत हस्तान्तरण गरेका हुन् ।
त्यस्तै गाउँपालिका अध्यक्ष हामनारायण श्रेष्ठले भूकम्पको बेला पीडितहरुलाई बाँडेजस्तो ४/५ आनाको घडेरीले मात्र नपुग्ने बताए ।‘दिगो जिविकोपार्जन सहितको जग्गाजमिनको प्रवन्ध हुनुप¥यो,’ श्रेष्ठले सभामुख सापकोटा संगको भेटमा भने । आवश्यक पर्दा कानुन् समेत संसोधन गरेर भएपनि जग्गाप्रप्तीलाई सहज बनाउन सभामुख सापकोटालाई उनले आग्रह गरे ।
पहिरो पीडितको अवस्था बुझ्न सभाखूख सापकोटासहित भूगर्भबिद लेखप्रसाद भट्ट, बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमूख कार्यकारी निर्देशक अनिल पोखरेल लगाएत नेकपाको केन्द्रिय सदस्य माधब सापकोटा सुवोध, प्रदेश सदस्य सुभाष कर्मचार्य, सरल सहयात्रि पौडेल, अमृता नेपाल, जिल्ला अध्यक्ष झम्क नेपाल, जिल्ला समन्वय प्रमुख गोपाल तामाङ, उपप्रमुख वालकुमारी सापकोटा लगायत नेकपाका नेता तथा कार्यक्रर्ता बाँसखर्क पुगेका थिए । उनिहरुले अस्थाई बसोवासको अवस्थाको प्रत्यक्ष अवलोकन समेत गरेका थिए ।