पार्टीभित्र खराब प्रवृतिसंग जुध्न के नैतिक बलकै खडेरी परेकाे हो त?

दिनेश दुलाल

लामो समय सम्म नेपाल कम्युनिष्ट पार्टी भित्र चलेको चरम विवाद हालका लागि मथ्थर देखिएको छ । कार्यशैलीलाई लिएर पार्टी अध्यक्ष द्वोय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड लगाएत शिर्ष नेतृत्व बीचको विवाद पार्टी फुटको स्थितिमा समेत पुगेको थियो । तर हालको लागि पार्टी विभाजनको सम्भावना टरेको छ । केही दिन अघि मात्रै समस्या समाधानका लागि कार्यदल निर्माण गरेर उक्त कार्यदलले प्रतिवेदन तयार गरी पार्टीका दुई अध्यक्षलाई पेश गरेको छ । अध्यक्ष द्वोयले अध्यान गरेपछि सचिवालयमा पेश गर्ने तयारी कार्यदलको रहेको छ । प्रतिवेदनलाई पार्टीको सचिवालयको बैठकले पक्कै अनुमोदन गर्नेछ । ६ महिना अघि देखिको पार्टी विभाजन हुने दुर्घटानालाई पछिल्लो कदमले मथ्थर पारेसंगै आम जनतामा र कार्यकर्तामा रहेको चिन्ता र चासोलाई केही हदसम्म सकरात्मक दिशामा मोडेको छ । यसलाई अहिलेको तत्कालिन उपलब्धीको रुपमा हेर्न सकिन्छ ।
पार्टी भित्र विवाद हुनु, फेरी बहस र छलफलको माध्यामबाट समाधान खोजिनु यो स्वभाविक प्रक्रिया मानिन्छ । अझ कम्युनिष्ट पार्टीभित्र त पार्टी भित्र हुने दुईलाईन संघर्षलाई अनिवार्य र पार्टीको मुल आत्मा मानिन्छ । यद्यपि कस्ता विवाद दुईलान संघर्ष लायक मानिन्छ भन्ने विषय महत्वपूर्ण हुन आउँछ । दुईलान संघर्ष विवादबाटै सिर्जित हुन्छ तर सबै खालका विवाद दुईलान संघर्ष चलाउने लायक हुँदैनन् । खासगरी पार्टी भित्रको विवाद र बहसलाई विचार, राजनीति र कार्यदिशा संग जोडेर तुलना गर्न सकिन्छ । यद्यपि अहिले नेकपा भित्र देखिएको विवाद कार्यशैलीगत जस्तो देखिएपनि खराब प्रवृतिका सूचकहरु देखिएका छन् । निश्चयनै दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण हुँदा तत्कालका लागि आ–आफ्ना विचार र उद्देश्य थाँती राखेर एकताको माहाधिवेशन सम्मको लागि साझा धारणा बनाएर अघि बढ्ने प्रण गरेका हुन् । अब यो स्पष्ट छ की नेकपा भित्र विचार र तत्कालिन कार्यदिशाबारे कुनै विवाद नै छैन् (महाधिवेशन सम्मका लागि) । कार्यशैलीमा भने ठूलो विवाद छ । जसले सिङ्गो राजनैतिक रुपमै प्रभाव पारिरहेको छ । यद्यपि कार्यशैलीगत विवादलाई अहिले टालटुल गर्न खोजिएपनि यो दिगो समाधान होईन । कुनै नै कुनैबेला सोही खालको विवाद बल्जि रहन सक्ने छ । किनकी यसलाई कार्यशैलीमा देखिएको त्रुटिको रुपमा मात्र हेरिएको छ । कार्यशैली सामन्य नै हुन्छ यद्यपि यो खराब प्रवृति संग जोडियो भने खतरनाक हुन्छ । खराब प्रवृति व्यक्तिवाद र अंहकारवाद संग जोडिएको हुन्छ । यसकारण यो प्रवृति नेतृत्वमा देखियो भने कित पार्टी दक्षिणपन्थी अवसरवाद कित दक्षिणपन्धी संशोधनवाद वा सुधारवाद तर्फ धकेलिन्छ । व्यक्तिवादी प्रवृतिले पार्टी भित्रको अनुशासनलाई पालना गर्दैन नत पार्टीको विधि र संगठानात्मक पद्वतिलाई नै आत्मसाथ गर्न सक्छ । व्यक्तिवादी प्रवृति चरम महत्वकांक्षा, दम्भ, अहंकार र सनकको भरमा निर्देशित हुन्छ । यसकारण यो बुझ्न जरुरी छ की वर्तमान पार्टी नेतृत्वमा केही खराब प्रवृति देखिएकै हो । त्यसको व्याख्या गरिरहनु पर्दैन केही घटनाक्रमहरुले उजगार गरिसकेको छ । अब नेतृत्वमा देखिएको यस्ता खालका प्रवृतिहरुको निराकरण गरिएन र कार्यशैली त्रुटि मात्र हो भनेर टालटुल गर्न खोजियो भने फेरी बल्झिन सक्ने सम्भावना प्रबल छ । बल्झिदा पार्टीलाई सामन्य क्षति मात्रै होईन भयंकर क्षति पु¥याउँछ । अहिले गठित विवाद समाधान तथा सुझाव संकलन कार्यदलको प्रतिवेदनलाई सरसर्ती अध्यान गर्ने हो भने यसले आम कार्यकर्ता र जनतामा एउटा भ्रम समेत जन्माएको छ । खासगरी कार्यदलको प्रतिवेदनमा उल्लेख मध्य दुईवटा बुँदा मात्रै उल्लेख गरौं । पहिलो मंसिर ४ मा भएको दुई अध्यक्षको सहमतिलई कार्यान्वयन गर्ने अर्थात प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाहा गर्ने । यसो हुँदा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजिनामा दिननपर्ने । अर्को महत्वपूर्ण बँुदा छ पार्टीको बहुमतको निर्णयलाई पार्टी अध्यक्ष देखि केन्द्रीय सदस्य सबैले मान्नु र लागु गरिनु पर्ने । पहिलो बँुदाको सन्दर्भमा साँच्चै कार्यकर्ता र जनतामा एउटा भ्रम सिर्जना भएको छ । यो विवाददाई विरोधीहरुले नेकपा भित्र ‘सत्ताको खेल र कुर्सि प्राप्तिको लागि हो’ भनेर टिकाटिप्पणी भईरहँदा अहिले त्यसैलाई मलजल पुग्ने काम भएको छ । के प्रचण्ड, माधवकुमार र झलनाथ खनालहरुले कुर्सि प्राप्तिकै लागि यो विवाद सिर्जना गरेका हुन् ? के केपी ओलीमा पद लोलुप्ताकै कारण दम्भ र अहंकार देखिएकै हो ? मंसिर ४ मै फर्कन पर्ने रहेछ त यति ठूलो रडाको किन ? यि यावत प्रश्नहरु उब्जिएका छन् । यसको निराकरण हामी फेरी मिल्यौं भन्ने अर्थले पुरा हुँदैन । के कारणले समस्या उत्पन्न भयो ? कुन विधिले समाधान खोजियो भन्ने कुरा स्पष्ट पार्न जरुरी छ । दोस्रो महत्वपूर्ण बुँदामा उल्लेख गरिएअनुसार पार्टीले गरेको बहुमतको निर्णयलाई सबैले मान्नु पर्ने । कम्युनिष्ट पार्टी त्यस्तो संगठन हो जुन विधि, शिद्वान्त र नीतिमा सदैव चलेको हुन्छ । लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवादी केन्द्रीयताका ठोस विषयहरु सुत्रवद्ध गरेको छ । जनवादी केन्द्रीयताका अनुसार, (१) व्यक्ति संगठनको अधिनस्थ हुन्छ, (२) अल्पमत बहुमतको अधिनस्थ हुन्छ, (३) तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ, (४) पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् (५) केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र (६) महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ भन्ने मान्यता राख्दछ । यो पार्टीको विधानमै उल्लेख भएको कुरा हुन । यि प्रावधान हुँदा हुँदै सरकारले संसद नचल्दा अध्यादेश ल्याएजस्तो कार्यदल बनाएर पटक–पटक यस्ता बिषय दोहो¥याउन पर्छर ? पार्टी विधानमा सबै कुरा छर्लङ्ग हुँदाहुँदै नेताहरुले थाहा नपाएजस्तो पार्टीको निर्णय मान्नु पर्ने भन्ने सहमति पत्र बनाउन पर्छर ? पार्टी विधान अनुसार चल्छ । विधि र विधान नमान्ने जो सुकैलाई कारबाही हुन्छ भने त भईहाल्यो नी । पार्टीको निर्णयलाई मान्ने भए केपी ओली तथा प्रचण्डले केन्द्रीय कमिटिको बैठकले जे निर्णय गर्छ त्यो मान्न तयार छौं भनेर भन्ने किन आँट नगरेको ? यसकारण दुई अध्यक्ष मध्य एउटाले अर्को पटक कुनै निर्णय नमाने फेरी अर्को सहमति गर्न पर्ने हो ? फेरी समस्या नदोहोरियला भन्न सकिन्न । समस्या काहाँ हो भने परिवर्तनका लागि जनयुद्व र जनआन्दोलनमा त्याग र सर्मप्रण गरेका कम्युनिष्ट पार्टीका नेताहरुले यि माथि उल्लेखित बिषयहरु बुझेनन् भन्नु मुर्खता हुनेछ । बरु नेताहरुलाई नैतिक बल चाँही नभएको साँचो हो । पद प्राप्तिका लागि नेताहरुबीच कँहि न कतै लेनदेनका तुषहरु बाँकी रहेका हुन्छन् । त्याहाँ केही न केही स्वार्थ लुकेको हुनाले नैतिक बल प्राप्त हुन सक्दैन । जति सुकै ठूला कुरा गरौं नैतिकबल बिना कुनै माईकलालले माँखो मार्न सक्दैन । नैतिक बल यस्तो हतियार हो जो हजारौं हतियार एकातिर भएपनि केही फरक पर्दैन यदि उसंग सच्चा र ईमानको नैतिक बल छ भने । यसकारण अबको दिनमा पार्टीले यि समस्या पुन ः दोहोरिन नदिन पार्टीको विधि र विधानलाई कडाईका पूर्वक लागु गर्ने हिम्मत गर्न सक्नुपर्छ । समस्यालाई टालटुल गरेर होईन गहिरो समिक्षा गरेर समस्याको चुरो पहिलाउन जरुरी छ । कार्यशैलीमा त्रुटी हो की प्रवृतिगत त्रुटी हो किटान गर्न आवश्यक छ । यदि अध्यक्ष द्वोयमा कमजोरी वा खराब प्रवृति हावी रहेछ भने निर्मम भएर आत्मआलोचित हुन तयार हुन पर्दछ । तब मात्र नेकपाको दिगो एकता सम्भव छ र भविश्य उज्जवल छ । यतातिर पार्टीले गम्भिर भएर सोचोस ।