बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता (फोटो फिचर सहित)

१० भदौ, सेलाड सिन्धुपाल्चोक ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लिदी पहिरोबाट विस्थापित भई थातथलो छाडेर जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँग आज भएको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले काठमाण्डौमा सोमबार भएको उच्चस्तरीय छलफलमा महाविपत्तिमा परेको सिन्धुपाल्चोकमा नमुना बस्ती बनाउने विषयमा संकल्प गरिएको जानकारी गराउँदै चाँडो जग्गा प्राप्तिको सुरुआत गर्ने र व्यबस्थित एकिकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढाइने बताए ।

देशमा ७७ वटा जिल्ला भएपनि सिन्धुपाल्चोकमा महाविपत्तिमा परेकोले यस जिल्लालाई मोडेल बनाउने विषयमा सहमती भएको उनको भनाई छ । सभामुख सापकोटाले जिल्लाबासीको पीडा, दुःख र कठिनाइका विषय प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर सबिस्तार जानकारी गराउने स्पष्ट पारे ।

सभामुख सापकोटाले सबैभन्दा पहिले लिदी पहिरोमा परिवार गुमाएका बालबालिकाको व्यबस्थापन गरिने बताउँदै उनीहरुको शिक्षादिक्षाको उचित व्यबस्था गरिने बताए ।
उनले जुगल गाउँपालिकाका विस्थापितहरुका लागि बाँसखर्कमा तथा बाह्रविसे र भोटेकोशीका विस्थापितका लागि बन्देउमा स्थानीय तहका जनप्रतिनिधि र जिल्ला विपद व्यबस्थापन समितिमार्फत राहत सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका सामग्रीहरुमा टेन्ट, सोलार बत्ती, न्यानो कपडा भान्सा र सरसफाइका सामान लगायत रहेका छन् ।

सभामुख सापकोटासँगै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, बैकल्पिक उर्जा प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्ट लगायत बाँसखर्क गएका थिए ।