धुलिखेलमा शुरु भयो प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला

भदाै ६, धुलिखेल (काभ्रे) । जिल्लाको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
आजबाट धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परिक्षण ल्याबबाट कोभिड-१९ परिक्षण सुरु भएको उनले बताए । उनका अनुसार प्रयोगशाला स्थापना भएसंगै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेको स्वाव परिक्षण हुनेछ भने केही दिन पछि सिन्धुली र भक्तपुर अस्पतालमा पनि कोभिड-१९ परिक्षण ल्याब सञ्चालन हुनेछ ।
‘बागमती प्रदेशका १३ जिल्लाका लागि जनस्वास्थ्य प्रयाेगशाला स्थापना गर्ने याेजना अनुसार धुलिखलामा स्थपना गरेका हाै,` सामाजिक विकासमन्त्री दुलालले बताए । नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी १३ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना सुरूवात भएकाे उनले बताए ।
प्रयाेगशाला व्यवस्थापनकाे लागि धुलिखेल नगरपालिकाले चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । दैनीक एक हजार स्वाव परिक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ ।
सरकारी स्तरका दरवन्दीमा १३ र करारमा ९ जना कर्मचारीहरुले उक्त प्रयोगशालामा कार्य गर्नेछन् । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परिक्षण हुनेछ ।
धुलिखेल अस्पतालमा यस अघि परिक्षण हुँदै आएको प्रयोगशाला, स्वचालित थप अर्काे प्रयोगशला र प्रादेशिक प्रयोगशालाबाट द्रुत गतिमा परिक्षण हुँदा नागरिकहरुले स्वाव संकलन गरेको भोलिपल्टै जानकारी पाउनेछन् । प्रयोगशालाको कमीका कारण स्वाब संकलन गरेको झण्डै साता दिनसम्म ब्यक्तिले आफ्नो बारेमा जानकारी पाउन नसक्दा समुदायमा संक्रमण फैलिरहेको थियो । त्यो समस्याबाट मुक्त हुने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री दुलालले बताए ।

प्रयोगशलाको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साद, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।