गैरलाभग्राहीमा परेको गुनासोकर्तालाई भाद्र १५ सम्म जानकारी पत्र बुझ्न प्राधिकरणको आग्रह

निर्मल बस्नेत
भदाै २, चौतारा (सिन्धुपाल्चाेक) ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णयबाट गैरलाभग्राही भएकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई २०७७ भाद्र १५ सम्म गैरलाभग्राही भएको पत्र बुझ्न आग्रह गरेको छ ।


२०७२ सालको भूकम्पबाट सुरुको सर्वेक्षणमा छुट भएका तथा सर्वेक्षणवाट लाभग्राही नभएकाहरुले नीजि आवास क्षती भएको भनि गुनासो गरि त्यस गुनासो उपर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक खटाई क्षतिको लगत लिएका्े थियो । प्राविधिकले संकलन गरेको लगतको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयमा प्राधिकरणको कार्यकारी समितिको निर्णयबाट कतिपय लाभग्राही सुचिमा परे भने धेरै संख्यामा गैरलाभग्राही भए ।
गैरलाभग्राहीमा परेका गुनासोकर्ताले सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बाट गैरलाभग्राही कायम भएको पत्र लिन सक्ने प्राधिकरणले जानाएको छ । प्राधिकरणको निर्णय चित्त नबुझेको खण्डमा गुनासोकर्ताले तोकिएको ढाँचामा जिल्ला आयोजना कार्यान्वयन इकाई वा पुनरावेदन समिति शिंहदरवारमा पुनराबेदन गर्न पाउने व्यवस्था रहेको छ ।
पुनरावेदन गर्न चाहने गुनासोकर्ताले पत्र बुझेको ३५ दिनभित्र आफुसंग रहेको दावीप्रमाणहरु संलग्न राखी पुनरावेदन दिइसक्नु पर्नेछ भनिएकोे छ । यसरी पुनराबेदन गर्दा पुनरावेदकले १ सय राजस्व तिर्नुपर्ने जिल्ला आयोजाना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकका जिल्ला आयोजना प्रमुख प्रेमप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार जिल्लाका १२ वटा स्थानीय तहको १६ हजार २ सय ४९ जना गैरलाभग्राहीहरुलाई पत्र पठाईसकेको जानकारी दिए । उनले भने “गुनासोकर्तालाई पत्र लिन चौतारासम्म धाउन नपरोस् भनि उक्त पत्र स्थानीय तहमा पठाईएको छ’ । र, सम्वन्धित वडा कार्यालयमा गई भरपाई गरि पत्र बुझीलिई हदम्याद भित्र आफुसंग भएको प्रमाण संलग्न राखी पुनराबेदन गर्न सक्ने गौतमले बताए । उनले भो पुनराबेदन गर्दा संलग्न गर्नुपर्ने कागजातसमेत पठाएको छ । पुनरावेदन लेखपढ गर्नसक्ने जो कोहीले तयार गर्न सक्ने छन् ।
यसरी पठाईएको पत्र बुझि १ हजार २ सय ३९ जनाले जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोक मार्फत पुनराबेदन दर्ता गरिसकेको गौतमले जानकारी दिए । उनका अनुसार यी मध्ये ७ सय ८९ जना यहि साउन यतामात्र दर्ता भएको हो ।
त्यसैगरी, अन्यत्र बसोबास योग्य घर भएका कारणबाट गुनासो सुनुवाईको अन्तिम निर्णय हुन बाँकी गुनासोकर्ताहरुलाई तोकेको प्रक्रिया अनुसार २०७७ भाद्र मसान्त सम्ममा सिफारिस बुझाइसक्न पनि सूचित गरिेको छ । उनीहरुले सम्बन्धित स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतबाट घर रहेको वा नरहेको प्रमाणित भएको सिफारिस जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा सिफारिश पेश गर्न सक्नेछन् । र, सो सिफासिको आधारमा पुनर्निर्माण प्राधिकरणले अन्तिम निर्णय लिने बताए ।
त्यस्तै, प्रवलीकरण लाभग्राहीबाट पुनर्निर्माण लाभग्राहीमा परिवर्तन गर्न चाहनेहरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन दिई प्राधिकरणले तोके अनुसारका सिफारिसहरु तयार गरी निवेदन पेश गर्न पनि भनिएको छ । त्यस्ता लाभग्राहीले २०७७ कात्तिक मसान्तसम्ममा सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन पेश गर्न सक्ने सुचनामा उल्लेख छ ।
सुचनामा हालसम्म अनुदान संझौता गर्न बाँकी लाभग्राहीहरुलाई २०७७ भाद्र मसान्तसम्म अनिवार्य अनुदान संझौता गरी पहिलो किस्ता लिनसमेत आग्रह गरेको छ ।