चौतारा साँगाचोकगढी नगरपालिकाद्वार खर्च सार्वजनिकीकरण, कोभिड–१९ नियन्त्रणका लागि मात्रै ९३ लाख

साउन २३, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिकवर्ष सकिएसंगै आफ्नो नगरको आयव्यय सार्वजनिकरण गरेको छ । हिजो चौसागढीले नगरको वार्षिक समिक्षा, पत्रकार भेटघाट कार्यक्रम तथा सार्वजनिक सुनवाई कार्यक्रम राखेको हो ।

नगरको आयोजना तथा प्रेस संगठन नेपाल सिन्धुपाल्चोकको समन्वयमा भएको वार्षिक सुनुवाई कार्यक्रममा नगरले कोभिड–१९ नियन्त्रणका लागि मात्रै ९३ लाख २८ हजार ४ सय ५६ खर्च भएको जनाएको छ । नगरको आर्थिक वर्ष २०७६÷०७७ को आय–व्याय विवरण सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सो अनुपातमा खर्च भएको बताए । सो मध्ये १२ लाख बागमति प्रदेशबाट अनुदानको रुपमा आएको उनले बताए ।
उनका अनुसार कोरोनाको कारण चैत्र ११ देखि मुलुकमा लकडाउन भएयता नगरले मेलचौर, जिल्ला समन्वय समिति तथा चौतारा बहुमुखि क्याम्पसमा राखिएको क्वारेन्टिनमा उक्त खर्च भएको हो । क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्यउपचार, खाद्यन्न तथा लत्तकपडा लगाएतमा सो अनुपातको रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । अझै कोभिड–नियन्त्रणमा नआईसकेको हुँदा यो आर्थिक वर्षमा समेत नगरपालिकाले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखिएको उनले बताए ।
प्रदेश तथा संघको खर्च प्रतिशत न्युन
संघीय सरकार तथा प्रदेश सरकारले नगरपालिकालाई प्राप्त गरेको अनुदानमा खर्चको प्रतिशत अत्यान्त न्युन देखिएको छ ।
संघबाट प्राप्त सशर्त, समानिकरण र राजश्ववाँडफाँड अनुदानमा नगरभित्र सम्पूर्णको आयको ६४.६७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । त्यस्तै सोही शिर्षक अनुपातमा प्रदेशबाट प्राप्त अनुदानमा ६८.७४ प्रतिशत खर्च भएको उनले बताए । नगरको आन्तरिक स्रोतबाट भने ९५.२१ प्रतिशत खर्च भएको पाण्डेले जानारी दिए ।
उनका अनुसार नगरले २०७६÷०७७ को पूँजिगत खर्चमा प्रथम, दोस्रो र तेस्रो चौमासिक गरी ६८.७१ प्रतिशत र चालुमा ८५.६१ प्रतिशत खर्च गरेको छ ।
नगरले प्राप्त गरेको अनुदान २६ करोड ६ लाख २४ हजार रहेको छ भने आन्तरि स्रोतबाट प्राप्त आम्दानी १४ करोड ४ लाख २० हजार रहेको छ ।
संघबाट तथा प्रदेश सरकारबाट आउने अनुदान समयमै नआएका कारण काम सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको तर्क छ ।
नगरले आन्तरिक स्रोतबाट हुने खर्चलाई समेत आगमी दिनमा उपभोक्ता मार्फत गर्न लागिएको उनले बताए । नगरको आगमी योजना स्वास्थ्य, कृषि, पशुपालन र रोजगारी रहेको उनले जानकारी दिए ।

चौसागढीको किसानमुखी लोप्रिय कार्यक्रम
चौतारा साँगाचोकगढी नगरपालिकाले आगमी आर्थिक वर्षलाई किसानमुखी लोकप्रिय कार्यक्रम समावेश गरेको छ ।
कृषि क्षेत्र तथा उत्पादनलाई बढवा दिने हिसाबले किसानमुखी कार्यक्रम राखिएको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर अमानसिं तामाङले पत्रकार भेटघाट कार्यक्रममा बताए । ’अब किसानलाई भैंसी किन्न होईन दुधमा अनुदान दिन्छौं‘, मेयर तामाङले भने । उनका अनुसार भैंसी किन्न किसानलाई अनुदान दिनुभन्दा दुधमा अनुदान दिंदा उत्पादनमा बढवा आउने उनको तर्क छ । तर विपन्न तथा गरिब किसानलाई भने भैंसी किन्न ८० प्रतिशत नगरले व्योहोर्ने उनले बताए । नगरले आगमी वर्षका लागि गौरवका आयोजना निर्माण देखि महत्वपूर्ण योजनाहरु नगरसभाबाट तय भईसकेको उनले जानकारी दिए ।
कार्यक्रममा नगरभित्रका विषयगत कार्यालय प्रमुखहरु, १४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । जिल्लाका सञ्चारकर्मीहरुले नगरपालिका तथा वडाका सन्दर्भमा केही जिज्ञासा समेत राखेका थिए ।