हाँडिखोलाको उच्च बहावका कारण हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुँदै

रबिन दनुवार
साउन ८, भिमटार (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा हाडिखोलाको उच्च बहावका कारण हजारौं रोपनी खेतीयोग्य जमिन वगरमा परिणत हुने भएको छ ।
अबिरल बर्षाका कारण हाडिखोलाको पानीको बहाव बढेकोले भिमटारको हजारौं रोपनी क्षेत्रफलको खेतीयोग्य जमिन बगरमा परिणत हुन लागेको हो ।
आइतबार देखि परेको भारी बर्षाका कारण हाडिखोलाको पानी बढेर आएकोले पानी खेतमा छिरी लगाएको बालीनाली नस्ट गरेको स्थानीय बलराम दनुवारले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार हाँडिखोलामा आएको पानीको बहावले नदिको धारै परिवर्तन गरी खेतीमा बाढी छिरेको हो । अहिले तत्काल रोकथामकालागि खेतमा बाढी छिर्ने ठाउँमा मध्ये पहाडी लोकमार्ग निर्माण ठेकेदार कम्पनीसंग १५ थान जाली मागेर जालीभर्न सुरु गरिएको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कमलरत्न दनुवारले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार अहिले तत्काल बाढी रोकथामका लागि जालि हाल्ने र पछि कोरिडोर निर्माण गरि बगर खेत संरक्षण गरिन लागिएको हो ।