बन्द भएको अरनिको राजमार्ग खुलाउन सुरुवात, केहीदिनमै जम्बु जेडिदै

साउन ७, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका अन्र्तगत खागदल तथा जम्बुमा अघिल्लो साता आएको बाढीपहिरोले क्षति बनाएको अरनिको सडक पुनः सुचारु गर्न थालिएको छ ।
बाह्रबिसे नगरपालिकाको पहलमा नयाँ ट्रयाकले क्षेतिग्रस्त राजमार्गलाई जम्बुसम्म जोडिन लागिएको हो । तीनवटा स्काभेटर लगाएर सोमबार देखि सडक छिचोल्ने काम सुरुवात गरिएको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । ‘हामी छिट्टै अवरुद्व बनेको सडक जम्बुसम्म जोड्ने छौं’, नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालासंग भने । उनका अनुसार भोटेकोशी नदिले अरनिको राजमार्ग खोर्सानीबारी देखि जम्बु सम्म ठाउँ–ठाउँमा कटान गरेको थियो । सडकको नामनिशाननै नरहनेगरी सडक कटान गरेपछि नयाँ ट्रयाक खोल्नु परेको मेयर शेर्पाले बताए ।

उक्त ट्रयाक खोल्न बाह्रबिसे नगर, सडकडिभिजन कार्यालय चरिकोट र नेपाल ट्रक कन्टेनर व्यवसायी कम्पनीको एक–एक वटा गरी ३ वटा स्काभेटरले निरन्तर पहरो काट्ने तथा नयाँ ट्रयाक खोल्ने काम गरिरहेको मेयर शेर्पाले बताए । अबको केही दिनमै त्याहाँको आवत जावतलाई सहज बनाईने मेयर शेर्पाको भनाई छ । ’हामी त्याहाँको दैनिकी जनजीवनलाई र यातायातलाई सहज बनाउने छौं’, मेयर शेर्पाले भने ।

अबको २÷३ दिनमै बाह्रबिसे देखि जम्बु सम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले सिन्धुज्वालालाई बताए । उनका अनुसार बाह्रबिसे देखि जम्बुसम्म ४ किलोमिटर दुरी पर्दछ । सडकडिभिजनको स्काभेटर बिग्रेका कारण आज काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताए । भोली देखी निरन्तर बाटो खन्न खटिने उनले जानकारी दिए ।

यसैबीच आज बिहान अरनिको राजमार्ग अन्र्तगत कोठेमा पहिरोले सडक भासिएर यातायात आगगमनमा ठप्प रहेपनि साँझ सम्म सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले सिन्धुज्वालालाई जानकारी दिए ।