केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

साउन ५, चौतारा (सिन्धुपाल्चोक)
तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाइ आग्रह गरेको छ । भोटेकोशी नदिमा बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोशी नदि तटीय क्षेत्रमा बासिन्दालाई सुरक्षीत स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।
सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार खासा क्षेत्रमा उच्च वर्षा भइरहेकाले भोटेकोसी नदीको साथै स्थानीय खोल्सीमा बहाव बढेको हो । प्रशासन कार्यालयले प्रभाबित क्षेत्रका स्थानिय तहसँग समन्वय गरि सुचना मार्फत सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले ताल तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिक जीउधनको सुरक्षा गर्न आग्रह गरेको छ । स्थानीय तहलेसमेत नदी तटीय क्षेत्रका बासिन्दालाई सूचना प्रवाह गरिरहेका छन ।
२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो । त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औंल्याएका हुन् । केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको छ ।