मेलम्ची खानेपानी आयोजना निर्माणमा चरम लापरबाही, सुरुङ निर्माणमै गुणस्तरहिन भएको आशंका

साउन ४, २०७७
मेलम्ची । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्माणमा चरम लापरबाही देखिएको छ । मंगलबार १२ बजे पानी भरिएको सुरुङको १७ नम्बरको गेट एक्कासी फुटेको छ । निर्माण सम्मन्न हुने अन्तिम चरणमा पुगेको आयोजनाको सुरुङ फुटेपछि आयोजना निर्माणमै गुणस्तरहिन भएको आशंका गरिएको छ । मंगलबार सुरुङ फुट्दा आएको बाढीले त्याहाँ कार्यरत चारजना कर्मचारीलाई बगाएको थियो । दुईसाता अघि मात्रै खानेपानी मन्त्री बिना मगर समेतको उपस्थितिमा आयोजनाले पहिलोपटक सुरुङमा पानी छिराएर परिक्षण गरेको थियो । स्थानीय सरोकारवालाहरुलाई समेत जानकारी नदिई आयोजनाले हतार हतारमा परिक्षण गरिनुलाई स्थानीय सरोकारवालाहरुले गम्भिर चासो जनाईरहँदा सुरुङ नै फुटेपछि झन स्थानीयमा आंशकाको दायारा बढाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको तर्क छ ।

राष्ट्रिय गौरव आयोजनाको सुरुङ नै फुटेपछि आयोजनाको सम्पूर्ण निर्माणमै त्रुटी भएको हुनसक्ने उनको दावी छ । ’ग्याल्थुम सम्म ९ किलोमीटर मात्रै भरिएको फुटेकाले कम क्षति भयो नत्र ठूलो क्षति बनाउँथ्यो’, अध्यक्ष निमाले भने । सुन्दरीजलसम्म भरिएको पानी फु्टे काठमाडौं र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र सखाप हुनसक्ने उनको भनाई छ । आयोजनाले सुरुङको संरचना नै कमजोर बनाएको तथ्य प्रमाणित भएकोले छिटो पानी काठमाडौं पथान्तरण गर्नुभन्दा सुरुङ निर्माणको गुणस्तरको लागि विज्ञ टोली बनाएर निरिक्षण गर्न उनले सुझाए ।
सुरुङ निर्माणको सुरुको प्रक्रया नै त्रुटीपूर्ण भएको नेकपाका नेता हस्तपण्डितको भनाई छ । सुरुङ फुटेपछि खानेपानी मन्त्रालय तथा आयोजनाको भने आधिकारिक भनाई आएको छैन् ।