प्रदेश सरकरले सिन्धुपाल्चोकका ३ स्थानीय तहलाई सहयोग गर्ने

साउन ३,
बाह्रबिसे (सिन्धुपाल्चोक) । बागमती प्रदेश सरकारले बाढी पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका ३ स्थानीय तहलाई सहयोग गर्ने भएको छ ।
प्रदेश विपद् व्यवस्थापन समितिको वैठकले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकालाई सहयोग गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको तर्फबाट सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तहहरुलाई आर्थिक सहायता प्रदान गर्न लागिएको पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए । हिजो बाढीपहिरोबाट अति प्रभावित बाह्रबिसे तथा भोटेकोशी क्षेत्रको स्थलगत निरिक्षणका क्रममा मन्त्री नेपालले उक्त जानकारी गराएका हुन् । ‘बाढीपहिरोबाट अतिप्रभावित सिन्धुपाल्चोकका ३ स्थानीय तहलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्नेछ’, मन्त्री नेपालले भने । उनका अनुसार प्रदेश सरकारले राहत व्यवस्थापनको लागि बाह्रबिसे नगरपालिकालाई ३० लाख, भोटेकोशी गाउँपालिकालाई १५ लाख र जुगल गाउँपालिकालाई १० लाख उपलब्ध गराउने निर्णय भएको हो ।

त्यस्तै बाढी पहिरोमा परि घाईते भई उपचाररत बिरामीको उपचारमा सहयोग पु–याउन अस्पतालको बिल अनुसार अधिकतम प्रति बिरामी २५ हजार सम्म उपचार खर्च बेहोर्ने निर्णय भएको उनले बताए । बाढी तथा पहिरोमा घर क्षति भएका पीडित परिवारलाई प्रदेश सरकारले आवासको व्यवस्था गर्ने निर्णय समेत भएको उनले बताए ।
स्मरण रहोस बागमती प्रदेश सरकारले मृतक परिवारलाई प्रति मृतक १ लाख राहत उपलब्ध गराउने निर्णय यस अघि नै गरिसकेको छ ।
यसैगरी शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेश सभा सदस्यलाई मनोनित गरेको छ । समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेको थियो ।