युवा व्यवसायीहरुले गरे बाढीपीडितलाई सहयोग

असार ३०,
बाह्रबिसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकका युवा व्यवसायीहरुले जिल्लाका बाढीपीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
युवाव्यवसायीहरुले बाह्रबिसे तथा भोटेकोशीमा परेका पहिरो तथा बाढीपीडितहरुको लागि आर्थिक सहायता प्रदान गरेका हुन । उनीहरुले बाह्रबिसे नगरपालिकालाई २ लाख ५० हजार तथा भोटेकोशी गाउँपालिकालाई एकलाख सहयोग प्रदान गरेका छन् । आज व्यवसायीहरुले बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र नेकपा भोटेकोशी गाउँपार्टी अध्यक्ष आङछिरी शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरोमा परेका मृतक तथा घाईते परिवारको लागि सहयोग पुगोस भनेर युवा व्यवसायी मिलेर आर्थिक सहयोग प्रदान गरिएको युवा व्यवसायी तथा नेपाल शेर्पा संघको केन्द्रीय सदस्य तथा नेकपा सिन्धुपाल्चोकका जिल्ला आर्थिक विभाग सदस्य आङदोर्जे शेर्पाले सिन्धुज्वालाई बताए । ‘बाढी तथा पहिरोमा पहिरोमा परेका मृतक तथा घाईते परिवारलाई सहयोग पुगोस भनेर गरेका हौं’, युवा व्यवसायी आङदोर्जेले भने । उनका अनुसार सहयोग गर्ने व्यवसायीहरु त्रिपुरासुन्दरीका लाक्पा शेर्पा, भोटेकोशी गाउँपालिकाका मिकमार तामाङ र दोलखा विगुका फुर्निमा शेर्पा समेतको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।

युवा व्यवसायीहरुको सहयोगले नगरपालिकालाई उत्साहा थपिएको बाह्रबिसे नगरका नगरप्रमुख निमफुञ्जो शेर्पाले बताए ।
उद्वारको नाममा हेलिकप्टेरको प्रतिश्पर्धा तथा खाद्यन्न मात्रै थुपार्नु भन्दा आर्थिक सहायता उपयुक्त भएको नेकपाका जिल्ला कमिटि सदस्य समेत रहेका आङछिरीको तर्क छ ।
पीडितहरुको लागि आवश्यक पर्ने सहयोग आगमी दिनमा पुनः गरिने व्यवसायीहरुले बताएका छन् ।