‘मेडिकलवालाहरुले टेरेनन् अब कानुनी कारवाही गछौं’–मेयर शेर्पा

असार २६, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले कानुनी दायरामा नआउने मेडिकल व्यवसायीहरुलाई कानुनी कारवाही गरिने बताएका छन् । नगरपालिकाको बाह्रबिसे बजारभित्र रहेका औषधी पसलहरुले अनियमतापूर्वक व्यवसाय चलाएको भन्दै एकसाता भित्र व्यवसायीहरुसंग स्पष्टीकरण मागिएको थियो । मडिकल व्यवसायीहरुलाई आज बोलाईए पनि कुनै व्यवसायी सहभागि भएनन् । नगरले बोलाउँदा समेत स्पष्टीकरण दिन व्यवसायीहरु नआएपछि कानुनी कारबाही गर्न लागिएको नगरप्रमुख शेर्पाले जानकारी दिए । ‘पटक–पटक चेतावनी दिंदा पनि व्यवसयीहरुले अटेर गरे अब कारवही गर्छौ’, मेयर शेर्पाले भने । उनका अनुसार नगरपालिकाको आयोजनामा आज भएको बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, शसस्त्रका प्रमुख, नगर स्वास्थ्यशाखा तथा जनप्रतिनिधीहरुको समेत सहभागितामा छलफल भएको थियो । छलफलले कानुनी अटेर गर्ने त्यस्ता व्यवसायीहरुलाई कानुनी कारबाही गर्नुपर्ने निश्कर्ष निकालेको उनले बताए ।

६० रुपैंया पर्ने गर्भपतनको औषधी २४ सयमा बेचेको कुरा सचेत गराउँदा समेत उनीहरुले अटेर गरेपछि सो निर्णयमा पुग्न बाध्य भएको उनले स्पष्ट पारे । बरु उल्टै स्वास्थ्य विभागको प्रमुखलाई समेत मेडिकल व्यवसायीहरुले धम्क्याएर पठाएको उनले बताए । ‘जतिभन्दा पनि व्यवसायीहरु नियममा नबाँधीएपछि आजबाट कानुनी रुपमै कारवाहीको प्रक्रियामा लागेको हौं’, मेयर शेर्पाले थपे । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कालोबजारी गर्ने त्यस्ता व्यवसायीलाई मुद्दा समेत दर्ता गराउने उनले चेतावनी दिए । उनका अनुसार एकसाता अघि जिल्ला स्वास्थ्य कार्यालय सहित नगरे गरेको निरिक्षणका क्रममा केही मेडिकलहरुले बदमासी नै गरेका थिए । जसमा ५ वटा मेडिकलवालाहरुले कमजोरी गरिएको भेटिएको थियो । त्यसपछि उनीहरुलाई केही दिनभित्र नगरपालिकाद्वारा स्पष्टीकरण मागिएको थियो । तर व्यवसायीहरु उक्त छलफलमै सहभागी भएनन् ।