ईन्द्रावती गाउँपालिकामा बन्ने भयो रंगशाला, अध्यक्ष तामाङद्वारा शिलान्यास

रबिन दनुवार
असार २६, नवलपुर (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रंगशाला बन्ने भएको छ ।
जिल्लाका स्थानीय तहमै पहिलो बन्न लागेको रंगशालाको आज ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले गरेका हुन् ।
संघीय सरकार र गाउँपालिकाको ३ करोड ७९ लाख ११ हजार २०९ रुपैयाँमा बन्न लागेको रंगशाला यहि बर्षको माघ २१ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त रंगशाला निर्माणका लागि पालिकाले श्री बल्डवाइड आरविजे भीझ कम्पनी सँग ठेक्का सम्झौता गरेको हो ।
रंगशाला संघीय सरकार र पालिकाको संयुक्त बजेटमा निर्माण हुन लागेको हो । सो रंगशाला दुई चरण गरि सम्पन्न गरिने पालिका अध्यक्ष वंशलाल तामाङले सिन्धुज्वालालाई बताए ।
एक हजार दर्शक क्षमता भएको पहिलो चरणको काम यहि बर्षको माघ २१ सम्ममा सम्पन्न हुने जनाईएको छ । तीन हजार दर्शक क्षमता भएको दोस्रो चरणको काम आगामी बर्षमा गरिने अध्यक्ष तामाङले जानकारी दिए ।
स्थानीय तहमा हुने खेलकुद क्षेत्रको विकासको लागि रंगशाला नकै महत्वपूर्ण हुने उनले बताए ।