जेलभित्रै कोरोना संक्रमण देखिएपछि कैदीबन्दीलाई सकस

असार १८, चौतारा (सिन्धुपाल्चोक) । चौतारा कारागारमा रहेका एक कैदीलाई कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीलाई समेत सकस देखिएको छ ।
जिल्ला सदमुकाम चौतारामा रहेको कारागारमा हाल १ सय २१ कैदीबन्दी राखिएको छ । ६५ जना अट्ने क्षमता रहेको उक्त कारागारमा कोचाकोच गरेर बसेका कैदीबन्दी मध्ये एकलाई संक्रमण देखिएपछि अन्य कैदीबन्दीमा त्रास फैलिएको हो ।

कारागारमा जिल्लाकै एकजना कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार चौतारा कारागारमा रहेका ७३ वर्षीय कैदीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ति वृद्वाको स्वाब संकलन गरी काठमाडौं स्थित स्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा हिजो नै रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए । संक्रमित ति वृद्वालाई भने काठमाडौंमा लगिएको छ । संक्रमित व्यक्तिसंगको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको कन्ट्र्याक टे«सिङ गरी आज २३ जनाको स्वाब नमुना संकलन गरी पठाईएको चापागाँईले जानकारी दिए । जेलभित्र १ सय २१ कैदीबन्दीको क्रमशः स्वाब संकलन गरी परिक्षणको लागि पठाईने उनले बताए । कैदीबन्दीमा थप संक्रमण देखिए अलग–अलग ठाउँमा राखेर उपचार गर्न जिल्लाप्रशासन मार्फत गृहमन्त्रालमा अनुरोध गरिने उनले बताए । उता कारागारमा रहेका कैदीबन्दी भने निकै त्रसित देखिएका छन् । आफुसंगै बसेका कैदीलाई संक्रमण देखिएपछि अन्य कैदीबन्दी त्रसित भएको कारागारमै रहेका एक कैदीले सिन्धुज्वालालाई बताए । ‘हामी निकै आत्तिएका छौं, त्रसित छौं सरकारले छिट्टै हाम्रो बारेमा निर्णय गरोस’, ती कैदीले भने । ती कैदीका अनुसार सबै बन्दीका सुत्ने, खाना पकाउने तथा वाथरुपट्वाईलेट एउटै भएको हुनाले सबैलाई संक्रमण सर्ने भय भएको हो । ती कैदीका अनुसार कारागारमै रहेका संक्रमित ती वृद्वलाई केहीदिन अघि उपचारको लागि चौतारा अस्पतालमा लगिएको थियो ।
चौतारा अस्पतालबाटै संक्रमण भएको हुनसक्ने कैदीबन्दीको ठहर छ । यद्यपि जिल्ला स्वास्थ्य कार्यालयद्वारा अस्पतालमा संक्रमण भएनभएको बारेमा भने कुनै आधिकारिक भनाई आएको छैन ।
यो पनि पढ्नुहोस

इन्द्रावतीमा ११ महिने नाबालक सहित तीन जनामा कोरोना पुष्टी