हेलम्बुको लोकप्रिय कार्यक्रम ः किसानलाई व्याज मिनाहा, एकल पुरुषलाइ भत्ता

किउल । (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिकाले पालिकाको नीति तथा कार्यक्रममा लोकप्रिय कार्यक्रम समावेश गरेको छ । पालिकाले कोभिड–१९ विरुद्व लड्ने योजना सहित किसान र एकल पुरुषलाई राहतहुने कार्यक्रम ल्याएको हा । गाउँपालिकाले आगमी बजेटमा गत वर्षदेखि दिँदै आएको एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि गरी रु १ हजार बनाएको छ । अन्य मुदायका ६० वर्ष र दलित समुदायका ५० वर्ष नाघेका एकल पुरुषका लागि भत्ता उपलब्ध गराउँदै आएकोमा यस वर्षदेखि बढोत्तरी गरेको हो । त्यसैगरी गाउँपालिका भित्र रहेका किसानहरुले कृषि र पशु व्यवसायका लागि बैकबाट लिएको ऋणको ब्याज पनि पालिकाले मिनाहा गरिदिने भएको छ । कोरोनाका कारण तिर्न नसकेका किसानहरुको तीन महिनाको ब्याज गाउँपालिकाले नै तिर्ने योजना रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुज्वालालाई बताए ।
यस्तो छ पालिकाको आगमी बजेट
हेलम्बु गाउँपालिकाले आगमी आर्थिक वर्षको लागि करिब ४० करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार बसेको गाउँसभामा उक्त बजेट प्रस्तुत गरेको हो । पालिकाको गत आर्थिक वर्षमा कुल बजेट ३५ करोड ३२ लाख ९८ हजार रहेको थियो । जस मध्ये चालु तर्फ ६ करोड ७ लाख २ हजार र पुँँजीगत तर्फ २९ करोड २५ लाख ९६ हजार रहेकोमा ९५ प्रतिशत बजेट कार्यान्वयन गरेको थियो । यस वर्ष सतप्रतिशत समयमै काम सम्पन्न गरिने गाउँपालिका अध्यक्ष निमाले बताए । पालिकाले गत बर्ष पर्यटन प्रवद्वनका लागि ग्रेट ट्रेल निर्माण देखि विश्व सुन्दरी टोनी एन सिँगलाई हेलम्बुमा भित्र्याएर विश्व सामु सिन्धुपाल्चोकलाई चिनाउन सफल भएको थियो ।
यस वर्ष पालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका कार्यक्रम रहेपनि गत सालका गौरबका आयोजनाहरुलाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष निमाले बताए । त्यसैगरी गाउँपालिकाले हेलम्बु गाउँपालिकाले ’हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण‘ भन्ने स्लोगन राखेर हेलम्बु ग्रेटट्रेल, मोडल विद्यालय, भौतिक पूर्वाधार, कृषि सडक, शिक्षा, स्वास्थ्य रोजगार लगाएत महत्वपूर्ण कार्यक्रम राखिएको उनले बताए । त्यस्तै पालिकाले किसानलाई रासायनिक मलमा अनुदान रहेको छ । त्यस्तै स्वास्थ्य संस्थामा महिला सुत्केरी हुँदा दिंदै आएको यातायात बापत ३ हजारमा पालिकाले थप ३ हजार दिने कार्यक्रममा उल्लेख छ ।