बन्दाबन्दीको अवस्थामा नाका सुचारु हुनुलाई अवसरको रुपमा लिएको छु
यतिबेला मुलकभर कोभिड–१९ को संक्रमण बढेसंगै बन्दाबन्दी जारी छ । जारी बन्दाबन्दीका कारण मुलकको आर्थिक अवस्था निकै डामाडोल बनेको छ । देशकै राजश्व संकलन हुने मध्येको चीन संग जोडिएको उत्तरी नाका तातोपानी नाका समेत प्रभावित बनेको छ । बन्दाबन्दीको समयमा समेत तातोपानी भन्सार कार्यालयले केही राजश्व संकलन गर्न सफल भएको छ । बन्दाबन्दी पछि के कति राजश्व संकलन ग¥यो पछिल्लो अवस्था के कस्तो छ भन्ने सन्दर्भमा सिन्धुज्वाला अनलाईनद्वारा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीसंग गरिएको कुराकानीको सम्पादित अंश–सम्पादक
१) तातोपानी भन्सार कार्यालयको पछिल्लो अवस्था के कस्तो रहेको छ संक्षिप्तमा बताईदिनुहोस न ?
छिमेकी मुलुक चीनमा देखापरेको कारोना संक्रमणको कारण गत माघ १६ देखि बन्द रहेको थियो । यो भन्सार नाका नेपाल सरकारको मिति २०७६।१२।१२ को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृर्षि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार सामान आयात निर्यात गर्ने कार्य सुचारु गर्ने निर्णय अनुसार मिति २०७६।१२।२६ गते देखि मेडिकल सामान जांचपास गरी सञ्चालनमा आएको हो । यो नाका शून्य सम्पर्कको सिद्धान्त (जिरो कन्ट्रयाक थ्यौरी) बमोजिम एक तर्फी सञ्चालनमा आएको छ ।
२) मुलुकमा बन्दाबन्दी पछि देशको आर्थिक अवस्थानै ठप्प रहेको अवस्थामा तातोपानी भन्सार कार्यालयले राजश्व संकलन गर्न सफल भएको छ । के कति राजश्व संकलन भएको छ बताईदिनुहोस न ?
यस भन्सारबाट यस बर्षको जेष्ठ महिना सम्म कूल ८ अर्व २० करोड लागत मूल्य बरावरको सामान आयात भएको र सोही अवधिमा रु १ अर्व ३४ करोड ८६ लाख राजस्व अशुली भएको छ ।
३) कोभिड–१९ का कारण मुलुकका सबै नाका ठप्प भएको अवस्थामा तातोपानी नाकाबाट केही सामाग्री नेपाल भित्रिएका छन्, के कस्ता सामाग्री ल्याईएको हो ?
सुरुमा अत्यावश्यक मेडिकल सामाग्री आयातबाट सञ्चालन भएको यस भन्सार नाकाबाट हाल मेडिकल सामाग्रीका अतिरीक्त स्याउ, लहसुन, कृर्षि उपकरण, तयारी कपडा, टेलिफोन अन्य उपकरण, सूती कपडा, विजुलीका सामान, औधोगिक कच्चा पदार्थ र वालनट आदि जस्ता सबै प्रकारका समानहरु आयात हुने गरेको छ ।
४) छिमेकी मुलकबाट कोभिड–१९ को संक्रमण हुने भय कायमै रहँदा स्वास्थ्य सुरक्षा कसरी अपनाएर सामग्री भित्र्याउने गरिएको छ ?
कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण गर्न उच्च स्वास्थय सतर्कता अपनाईएको छ । सर्वप्रथम दैनिक चीन तर्फ गएर सामान लिएर आउने प्रयोजनको लागि चालक र श्रमिकगरी २९ जनालाई सुक्खा बन्दरगाहमा क्वारेटिनमा राखीएको छ । लिपिङस्थित भन्सार गेटमा दैनिक चिन तर्फ जाने र सामान लिएर आउने चालक र श्रमिकहरुको स्वास्थय परिक्षणको लागि नेपाल सरकारबाट स्वीकृत हेल्थ प्रोटोकल अनुसारको हेल्प डेस्क राखि स्वस्थय परिक्षण गर्ने गरिएको छ ।
मालवाहक गाडीहरुको नेपाल प्रवेश भएपछि निसंक्रमण गरी १२ घण्टा सोही स्थानमा क्वारेण्टिनमा राखी भोलीपल्ट मात्र सुक्खा बन्दरगाहमा ल्याई जाँचपास गर्ने गरिएको छ ।
सुक्खा बन्दरगाहमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । यसको लागि सेवाग्राीहीको लागि, कर्मचारीहरुको लागि अलग–अलग प्रोटोकल बनाई लागू गरिएको छ । मास्क नलगाएको व्यक्तिलाई कार्यालयमा प्रवेश नदिने र कम भन्दा कम व्यक्तिहरुको संलग्नतामा काम गर्न विद्युतीय माध्यमबाट कागज संप्रेषण गर्न सेवा ग्राहीहरुलाई प्रोत्साहीत गरिएको छ । व्यक्तिगत दुरी कायम भए नभएको अनुगमन गर्न एक जना सुरक्षाकर्मीलाई खटाईएको छ ।
५) मुलुकमा लकडाउन जारी भएसंगै सुरुका दिनमा छिमेकी मुलुक चीनबाट सामाग्री ल्याउन नहुने भन्दै तातोपानीका स्थानीयले चर्को विरोध र अवरोध पु¥याएका थिए पछिल्लो अवस्था कस्तो छ?
कारोना संक्रमणको त्रासको कारण सुरुको अवस्थामा स्थानीय बासीहरुबाट केही चासो राखिएको थियो । अन्तराष्ट्रिय नाका जस्तो महत्वपूर्ण विषय स्थानीय विरोधको कारण अवरोध आउनु राम्रो पनि थिएन । सम्भावित संक्रमणको विषयमा स्थानीय बासीहरुलाई बुझाउनु हाम्रो दायित्व पनि थियो । हामीले स्थानीय बासीहरुको चासोलाई अत्यन्त सतर्कताका साथ महत्व दिएर उहाँहरुसंगको निरन्तर सम्वाद, छलफल र अन्तक्रिया गरी केही अस्पष्ट विषयहरुलाई स्पष्ट पार्दै अगाडी बढ्यौं । समय वित्दै जाँदा स्थानीय बासीहरुमा पनि सुरुमा अस्पष्ट भएका विषयहरुमा स्पष्ट भई हामीलाई साथ दिएको अवस्था छ । अहिले भन्नु पर्दा सिन्धुपाल्चोक बासीलेनै गर्व गर्नु पर्ने अवस्था छ की देशमा कोरोना संक्रमण बढ्दै जाँदा सोको सुरक्षाको लागि आवश्यक पर्ने मास्क, सेनिटाईजर, ज्वरो नाप्ने मेसिन, टेष्ट किट आदि यसै नाकाबाट आपूर्ति हुँदा सबै नेपालीलाई राहत पुगको छ । बजारमा सुपथ मूल्यमा स्वास्थ्य सामाग्री आपूर्ति भएको अवस्था रहेको छ । अहिले सबै सिन्धुपाल्चोकबासीको नाका सञ्चालनको समर्थन र सहयोग रहेको छ ।
६) कोभिड–१९ ले मुलुकको आर्थिक अवस्था लगाएत गतिविधि ठप्प रहेको अवस्थामा तातोपानी भन्सार कार्यालयको सक्रियतालाई यहाँहरुले आफ्नो तर्फबाट कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मैले यसलाई अवसरको रुपमा पनि लिएको छु । सबैतिर बन्दाबन्दीको अवस्था रहेको छ । हिँड्डुल गर्न पनि सहज छैन तर यस्तो अवस्थामा भन्सार नाका सञ्चालन गर्नु पर्ने, नाकाबाट माल सामान छुटाई लैजाने व्यवसायीहरुलाई आवज जावतको लागि सवारी पासको व्यवस्था मिलाईदिने, स्वास्थय सुरक्षा प्रोटोकलको पालना गर्नु पर्ने आदि जस्ता विषयहरु पालना गर्दै, स्थानीय विरोधको वावजुद नाका सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । तथापी यसलाई हामीले चुनौतीको रुपमा नभई अवसरको रुपमा लिएर काम ग¥यौं । हामी एक्लै नभई सम्बन्धित सरोकारवाला हामी सबै एकै साथ हिड्यौं । यसलाई मैले भन्दा पनि स्थानीय जनताले नै मूल्यांकन गर्ने छन् । नाका सञ्चालनको समयमा स्थानीय पत्रकार साथीहरुले वास्तविक सूचना जनतालाई समक्ष सम्प्रेषण गरिदिएर ठूलो गुन लगाउनु भएको छ । मैले वहाहरुले जतना र देश प्रति निभाएको यो भूमीकालाई उच्च मूल्यांकन गर्दै भन्सार कार्यालयको तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु ।
७) यो अवस्थामा तातोपानी भन्सार कार्यालयले केही रचनात्मक काम पनि ग¥यो की ?
यो विशेष परिस्थिति हो । यस्तो अवस्थामा गरिएका सबै काम रचनात्मकनै हुन् जस्तो लाग्छ । तथापी दैनिक चीन तर्फ गएर सामान लिएर आउने प्रयोजनको लागि २९ जना चालक र श्रमिकहरुलाई सुक्खा बन्दरगाहमा क्वारेटिनमा राखीएको विषयलाई मैले रचनात्मक विषय ठानेको छु । यसले गर्दा स्थानीय जनताको विरोधको स्वर व्यवस्थापन गर्न तत्काल सहज भयो र पछि समय वित्दै जाँदा स्थानीय जनतामा विश्वासको वातावरण कायम गर्न पनि सहयोग पुर्याएको मैले महशुस गरेको छु ।
८) यो आर्थिक बर्ष सकिनै लागि सक्यो समग्रमा यो आर्थिक वर्ष गत बर्षको तुलनामा कति प्रतिशतले कमि हो ?
यस भन्सारबाट यस बर्षको जेष्ठ महिना सम्म रु १ अर्व ३४ करोड राजस्व अशुली भएको छ । यो गत आर्थिक वर्ष (२०७५।७६) को जेष्ठ महिना देखी सञ्चालनमा आएको हुँदा गत वर्षको अशुलीसंग तुलना गर्न मिल्ने अवस्था छैन । तर नाका सञ्चालनको पहिलो वर्ष र विभिन्न भौतिक पूर्वाधारको वावजुत माथि मैले भने अनुसारको असुली अत्यन्तै सन्तोषजनक असुली मान्दछु ।
९) संकटको अवस्थामा भन्सार कार्यालयमा आर्थिक अनियमिता र चुहावट हुन्छ भन्ने आरोप छ नी, त्यो आरोपलाई यहाँले कसरी खण्डन गर्नुहुन्छ ?
यो आरोपमा केही हाम्रो परम्परागत सोंचको पनि अंश छ र भन्सार प्रशासन प्रति आम बुझाई पनि कमी छ । आजको दिनमा भन्सार प्रशासनको भूमीका राजस्व संकलनको अतिरीक्त व्यपार सहजीकरण गर्ने र सीमा व्यवस्थापन पनि रहेको छ । भन्सार प्रशासनमा सदाचार र सुशासन प्रर्वद्धन गर्ने उद्धेश्यले भन्सार प्रशासनसंग सम्बन्धित नीति, विधि र संरचनामा व्यापक परिवर्तन तरिएको छ । सूचना र प्रविधिको अधिकतम् प्रयोग गरिएको छ । सम्भावित आर्थिक अनियमिता र चुहावट नियन्त्रणको लागि भन्सार प्रशासनले अहोरात्र काम गरेको छ । भन्सार प्रशासन आर्थिक अनियमिता र चुहावट गर्ने व्यक्तिगत प्रवृत्ति हो । यसलाई प्रणालीगत सुधारबाटै अन्त गर्न सकिन्छ भन्ने मान्यता अनुसार काम गरिरहेको छ । म सबै सम्बन्धित सरोकारवाला हरुलाई अनुरोध गर्न चाहान्छु की भन्सार प्रशासनलाई नजिकबाट हेरौं र बुझ्न कोशीस गरौं । पुरानो सोंच र पूर्वाग्रहको आधारमा आजको भन्सार प्रशासन प्रति धारणा नबनाउ । आऊ संगै बसांै छलफल गरौं आज भन्सार प्रशासनले कसरी काम गरिरहेको छ । भविष्यको रोड म्याप के छ ? नजिकबाटै बुझौं र अनिमात्र धारणा बनाऔं भन्ने मेरो विनम्र अनुरोध छ ।
१०) आगमी बर्ष राजश्व संकलनका हिसाबले तातोपानी भन्सार कार्यालयको उपलब्धी के कस्तो हुने यहाँले अनुमान गर्नुभएको छ ?
राजस्व असुली धेरै कुराले असर गर्दछ । तथापी आगामी आर्थिक वर्षमा स्थिति सामान्य रहेमा हामीले यस भन्सार कार्यालयबाट करिव २ अरव ५० करोड राजस्व असुली गर्ने प्रक्षेपण गरेका छौं ।
११) अन्त्यमा यस अनलाईन मार्फत यहाँको थप भनाई केही छ की ?
सर्वप्रथम त तपाईको अनलाईन मार्फत हाम्रो कार्यालय र भन्सार प्रशासनसंग सम्बन्धित महत्वपूर्ण जिज्ञाशाहरु राखी जनतामा सूचना संप्रेषण गर्ने यो अवसर हामीलाई प्रदान गरिदिनु भएकोमा यहाँको अनलाईन मिडियालाई हृदय देखिनै धन्यबाद दिन चाहान्छु । आगामी दिनमा पनि यस्तै रचनात्मक विषयमा छलफल गराई सर्वसाधारण जनतामा वास्तविक सूचना संप्रेषण गर्न सहयोगको अपेक्षा राख्दछु । धन्यवाद ।