मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रमः १ अर्ब १३ करोड बजेट प्रस्तुत

असार १०, मेलम्ची (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सातौ नगरसभा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
उपप्रमुख भगवती नेपालले नगरसभामा आगामी आर्थिक बर्ष २०७७र७८ का लागि १ अर्ब १३ करोड ३७ लाख २३ हजार ४ सय ५४ रुपैयाँ प्रस्तुत गरेको हो ।
नगरले कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टै ५ करोड १० लाख र स्वास्थ सम्बन्धि अन्य कार्यक्रमका लागि ८ करोड ८४ लाख विनियोजन गरेको छ ।

नगरउपप्रमुख भगवती नेपालले बजेट वक्तव्यमा संक्रमित रोग, प्रकोप र विपदबाट जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने, विकासलाई तिव्रता दिने, नागरिकका मौलिक हक अधिकारका रुपमा रहेको आवश्यकता परिपुर्ति गर्ने, पूर्वाधार विकास मार्फत नागरिकको जीवनस्तर उकास्दै आएकाहरुका लागि अवसरहरु वृद्धि गर्ने बताएकी छिन् ।
कोभिड–१९ लगायत सबै प्रकारका स्वास्थ्य विपद् , जोखिमबाट नगरबासिलाई सुरक्षित राखी गुणस्तरीय सेवाको स्तरोन्नति तथा क्षमता विस्तार गर्ने, वर्तमान अवस्थाले शिथिल भएको अर्थतन्त्रलाई उकास्दै लैजाने उपप्रमुख नेपालले कार्यक्रममा बताइन् ।
नगरप्रमुख डम्बरबहादुर अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक बर्षका लागि कृषि तथा पशु बिकास, पर्यटन साथै पुर्वाधारमा नगरप्रमुख अर्यालले जोड दिएका छन् ।
कोभिड–१९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाइ बसेका युवाहरुलाई आवश्यक सीपमूलक तालिम र अनुदानको व्यवस्था गरि कृषि पेसामा संलग्न गराइने कार्यक्रममा उल्लेख गरिएको छ ।
पशु सुत्केरी भत्ता, शीतभण्दार निर्माण साथै तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा जोड दिने कार्यक्रम प्रस्तुत गरिएको छ । मेलम्ची स्वप्न सरोवर निर्माणलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाइने गरि प्रथमिकता राखिएको छ । नगरपालिकाको एकीकृत गुरुयोजनाका आधारमा पुर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।