सामाजिक विकास मन्त्रालयले ल्यायो दर्जनौं लोकप्रिय कार्यक्रम

हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले दर्जनौं लोकप्रिय कार्यक्रम ल्याएको छ । आइतबार सार्वजनिक भएको बागमती प्रदेशसभामा प्रस्तुत बजेटमा सामाजिक विकास मन्त्रालयले बागमति प्रदेशका ३ सय ५९ वटा माध्यामिक विद्यालयमा नर्स सेवा देखि अनाथ बालबालिकालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने सम्मको कार्यक्रम रहेको छ ।
सामाजिक विकास मन्त्रालयले लोकप्रिय कार्यक्रम अन्र्तगत सबै जिल्लामा डाईलेसिस सेवा सञ्चालन गर्ने तथा पाँचवटा आवशीय विद्यालय सञ्चालन गर्ने रहेको जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सबै जिल्लाका अस्पतालहरुको विस्तार गर्ने गरी बजेटको व्यवस्था गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
प्रदेश अस्पताल नभएका जिल्ला मध्येका ४ जिल्लाका अस्पतालालाई प्रदेश अस्पतालको रुपमा विकास गर्नेगरी बजेट प्रस्तुत गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आगामी वर्षका कार्यक्रमहरुमा दोलखाको चरिकोट, काभ्रेको मेथिनकोट, ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गरिनेगरी कार्यक्रम बजेटमा समावेश भएको हो । मन्त्रालयका अनुसार क्यान्सर पीडितलाई सरकारले अहिलेसम्म दिँदै आएको १ लाख सहायतामा पनि थप गरेको छ । क्यान्सर पीडितलाई सरकारले दिँदै आएको १ लाख सहायता रकममा ५० हजार थप दिइने भएको छ । त्यसैगरी प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल संचालन गर्ने कार्यक्रम पनि मन्त्रालयले बजेटमा समावेश गरेको छ । यसैगरी आमा, बुबा दुबै नभएका बालबालिकालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मन्त्रालयले बजेटमा मिलाएको छ । त्यस्तै ‘एक विद्यालय, एक नर्स’ सामाजिक विकास मन्त्री दुलालले अघि सारेको लोकप्रिय कार्यक्रमलाई पूर्णता दिने बजेटमा उल्लेख छ । यसअघि बागमति प्रदेशका १ सय २१ विद्यालयहरुमा संचालनमा छ । अब प्रदेशका ३ सय ५९ वटा माध्यमिक विद्यालयमा नर्स सेवा संचालन गरिने भएको छ । सो प्रयोजनका लागि २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा ४४ करोड ८७ लाख रुपैयाँ बजेट राखिएको छ ।
भरतपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १ सय शैय्या क्षमतामा स्तरोन्नतिको कार्यक्रम समेत बजेटमा समेटिएको छ । कोभिड १९ को उपचारमा उपकरण खरीद गर्न १२ करोड बजेट राखिएको छ । त्यस्तै, सामाजिक क्षेत्रमा खोजमुलक पत्रकारिता गर्ने महिला पत्रकारको वृत्तिविकासमा समेत प्रदेशले बजेट विनियोजन गरेको छ । यस्तै युवा वैज्ञानिक उत्पादन गर्न सरकारले नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यवसायिक उपयोगको नीति लिइएको छ । तर बजेट भने पास हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।