चमेरो गुफा पुग्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

असार १, स्याउले (सिन्धुपाल्चोक)
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ ले आफ्नो वडाभित्र रहेको चमेरो गुफा पुग्न झण्डै तीनसय मिटर बाटो सिँढी निर्माण गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत आएको बजेटलाई आफ्नो वडाभित्र सदुपयोग गर्न वडाले धार्मिक तथा पर्यटकीय स्थल हर्लङबर्लङ र चमेरो गुफा जोड्न सिँढी निर्माण गरेको छ ।

प्रधानमन्त्री स्वरोजगार अन्र्तगत नगरबाट प्राप्त ५ लाख बजेटलाई सिँढी निर्माण गर्न प्रयोग गरिएको वडा नम्बर १ का वडा अध्यक्ष सानुकान्छा श्रेष्ठले सिन्धुज्वालालाई बताए । ’पर्यटकीय तथा धार्मिक स्थल हर्लङबर्लङ र नजिकै रहेको चमेरो गुफा जोड्न सिँढी निर्माण गरेका हौं‘, वडाअध्य श्रेष्ठले सिन्धुज्वालासंग भने । उनका अनुसार वडाकै १० लाख बजेटमा ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको छ ।
सो निर्माणको लागि यो आर्थिक वर्षमा नगरपालिका र केन्द्र सरकारको म्याचिङ फ्रन्टबाट दुईकरोड विनियोजन भएको समेत उनले जानकारी दिए । हर्लङबर्लङको पुननिर्माण सुरु भएसंगै ३ सय मिटर नजिकै रहेको चमेरो गुफा पुग्ने पैदल बाटोमा सिँढी निर्माण थालिएको उनले बताए । रड, सिमेन्ट र बालुवा रहित उक्त सिँढी निर्माणमा स्थानीय ढुङ्गाद्वारा बनाईको वडाअध्यक्ष श्रेष्ठको भनाई छ । दैनिक ३२ जनाको दरले स्थानीय कामकार परिचालन गरेर निर्माणधिन सिँढी सम्पन्न हुन एकमहिना लाग्ने उनले बताए । अब आउने आर्थिक बर्षमा पर्यटकलाई उक्त क्षेत्रमा भित्र्याउन सिँढी निर्माण लगाएत आवश्यक पूर्वाधारको विकास गर्न लागिएको उनले बताए ।
आन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषित गर्न हर्लङबर्लङ र चमेरो गुफा आसपासमा एकदर्जन पिकनिक स्पोर्टहरु निर्माण गरिने उनले बताए । वडा सदस्य रविन्द्र नाथ शर्माका अनुसार उक्त चमेरो गुफा एकदश अघि मात्र स्थानीयले पत्ता लगाएको हुन । गुफा ५० मिटर उचाईसम्म पुग्न सकिन्छ । गुफाको द्वार साँघुरो घाँटी भएपनि भित्र निकै फराकिलो रहेको गुफाभित्र आफैं अवलोकन गरेका वडाअध्यक्ष श्रेष्ठको कथन छ । त्यसमा समेत प्राकृतिक स्वरुप नबिगारी आवश्यक पूर्वाधार विकास गरिने उनले बताए ।

गतसाल निकै आन्तरिक पर्यटकहरुले अवलोकन गरेको हर्लङबर्लङमा झण्डै ६ फिट लामो लाम्चो ढुङ्गो फेला पारेपछि त्यसैलाई शिवको लिङ्गको रुपमा स्थापित गरिएको छ । शिव लिङ्गको आकारको रुपमा रहेको उक्त चटने ढुङ्गो मानव निर्मित नभई प्राकृतिक रुपमै रहेको वडा सदस्य शर्माको ठहर छ ।

सोही लिङ्ग स्थापना भएसंगै बार्षिक मेलामा हजारौं मानिसहरु आउने गरेको उनले बताए । स्याउले बजार नजिक रहेको हर्लङबर्लङ जिल्ला सदरमुकामबाट पश्चिम पाँचकिलोमिटर टाढा रहेको छ । मुलुकभर लकडाउन भएसंगै अहिले उक्त क्षेत्र निर्माणमा संलग्न बाहेक चहलपहल कम छ ।