नगरपालिकालाई अत्यावश्यक सामग्री वितरण

चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको क्वारेन्टाईनको लागि एक अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले आवश्यक सामग्री वितरण गरेको छ । सोही नगरभित्र कार्यरत स्थानीय संस्था जनहित ग्रामीण सेवा समितिको समन्वयमा संयुक्त रास्ट्रसंघिय सहयोगी संस्था (युएनडिपी÷ईको) को सहयोगमा नगरपालिकामा संचालित क्षेत्रीय क्वारेन्टाइन र आइसोलेसन वार्डको लागि आवश्यक सामग्री वितरण गरिएको नगर सचिवालय संयोजक रोहित शर्माले जानकारी दिए ।

उनका अनुसार उपलब्ध गराईएको सामग्रीहरुमा पानी ट्यांकी, फिल्टर, डस्ट्बिन, बाल्टी, साबुन, तौलिया, सेनिटाइजर लगाएतको सरसफाइ सामग्रीहरु रहेका छन् । यसअघि पनि लकडाउन भए लगत्तै नगरपालिका अन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाको लागि मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गरिएको उनले बताए ।

त्यसैगरी नगर विपद ब्यवस्थापन कोषलाई ग्रामीण सुधार समाजले १ लाख, मानुषी लघुबित्त कार्यक्रमले २५ हजार, स्वाबलम्बन लघुबित्त कार्यक्रमले १० हजार सहयोग गरेको उनले बताए । संयोजक शर्माका अनुसार रेडक्रस जिल्ला शाखा सिन्धुपाल्चोकले क्वारेन्टाइन र आइसोलेशन तयार गर्न बेडसेट, डस्ट्बिन, किचनलाई आवश्यक पर्ने सामग्री सहयोग गरेको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रवेशद्वार बन्देउमा गाडी डिसइन्फेक्ट गर्न प्राबिधिक सहयोग गरेको थियो । संघसंस्थाहरुको यस्तो सहयोगले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा ठूलो सहयोग पुग्ने मेयर अमानसिं तामाङले बताए ।