हेलम्बु गाउँपालिकाको शतप्रतिशत योजना सम्पन्न

सविना भण्डारी
किउल (सिन्धुपाल्चोक) । अघिल्ला बर्षहरुमा समयमै काम सम्पन्न गरेर जिल्लाकै नमुना बनेको हेलम्बु गाउँपालिकाले यसपटक पनि अग्रपंक्तिमा देखिएको छ । मुलुकभर कोरोना संक्रमण र लकडाउन भईरहेको सन्दर्भमा पालिकाले् जेठको अन्तिम साता नपुग्दै गाउँपालिकाको शतप्रतिशत योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ’हाम्रो शतप्रतिशत काम सम्पन्न भईसक्यो, केही भुक्तानी दिन मात्रै बाँकी छ‘, गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धुज्वाला संग भने । गाउँपालिकाले हालसम्म ५८.४६ प्रतिशत भुक्तानी दिईसकेको अध्यक्ष शेर्पाले जनाकारी दिए । बाँकी भुक्तानीको लागि उपभोक्ताहरुको बढी भिड हुने कारणले केही दिन रोकिएकाले केही दिन भित्रै भुक्तानी समेत भईसक्ने उनले बताए ।

उनका अनुसार हेलम्बुले गत साल चैत्रभित्रै योजना सम्पन्न गरेको थियो । ’लकडाउन नभएको भए हामी गतसाल झैं यसवर्ष पनि चैत्रभित्रमै योजना सम्पन्न गरिसक्थ्यौं‘, अध्यक्ष निमाले भने । लकडाउनका बीचमा पनि पालिकाले निश्चित दुरी कायम गरेर काम सम्पन्न गरिएको उनले बताए । पालिका अध्यक्ष निमाको अनुसार पालिकाको लागि छुट्याईएको करिब ४० करोड बजेट सडक, खानेपानी, सिंचाई तथा भवन लगाएत पूर्वाधारमा खर्च गरिएको हो । प्रदेश र केन्द्रबाट सिधै पालिकाभित्र परेका योजनाहरु भने काम सम्पन्न हुने चरणमा रहेको उनले बताए । पालिकाको आगमी बजेट कोभिड–१९ नियन्त्रण तथा रोकथाम, शिक्षा, रोजगारी र सीप मुलक काममा केन्द्रित उनले बताए ।