सिपाघाटमा चोरीको आरोपमा तीन व्यक्ति पक्राउ

जेठ १८, मण्डन देउपुर (काभ्रे)
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा चोरीको आरोपमा तीन व्यक्ति पक्राउ परेका छन् ।
आइतबारको दिन चोरीको आरोपमा स्थानीय प्रहरी कार्यालय देउपुरले तीन व्यक्ति पक्राउ गरेको हो।

स्थानीयको उजुरीमा सुन पसल चोरी गर्न लागेको आरोपमा तीन व्यक्ति पक्राउ गरेको प्रहरी चाैकी देउपुरका प्रहरी प्रमुख तारामणि श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए।
उनका अनुसार चोरीको आरोपमा पक्राउ परेका काभ्रे जिल्लाकै पाँचखाल नगरपालिका वडा नम्बर २ अनेकोटका २३ बर्षिय प्रज्ज्वल सापकोटा, सोही नगरपालिकाका २० बर्षिय पवन सापकोटा र ललितपुर जिल्ला घर भएको सानेपामा बसोबास गर्ने १७ बर्षिय रितेश रिमाललाई समेत नियन्त्रणमा लिएको उनलेे बताए ।
राति दुई बजेको समयमा ट्रिपर चलाएर घर आउने समयमा आफ्नै घर अगाडि रहेको सुन पसल राखेको घर फोर्दै गरेको देखेपछि स्थानीय सबैलाई डाकेर तुरुन्तै ती तीन व्यक्तिहरुलाई पक्रेर स्थानीय प्रहरी कार्यालय देउपुरलाई बोलाएर चौकीमा पठाएको स्थानीय रमेश भट्टराईले सिन्धुज्वालालाई बताए ।
स्थानीयको उजुरीमा चोरीको आरोपमा पक्राउ परेका ती तीन व्यक्तिहरुलाई थप अध्ययन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धुलिखेल पठाएको प्रहरी कार्यालय देउपुर प्रहरी प्रमुख श्रेष्ठले बताए।