नेलम सरकारको तर्फ सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्र्री यसरी भित्र्याईयो (फोटो फिचर सहित)

दिनेश दुलाल
जेठ ६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको नेलम काउन्ट्रीले सिन्धुपाल्चोक जिल्लालाई एकगाडी स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेलम काउन्ट्रीको तर्फबाट छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई आज हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुझेका थिए । उक्त सामग्री नेलम काउन्ट्री ज्यान्मु पोर्ट एडमिनिस्टरेटिभ कमिटिका चिफ अफिसर यान जिनले हस्तान्तरण गरेका हुन् । विहान १० तातोपानी नाका प्रवेश गरेको उक्त सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकाललाई हस्तान्तरण गरिएको तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले सिन्धुज्वालालाई जानकारी दिए । स्थानीय जनसरकारको तर्फबाट भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले हस्ताक्षर गरेकी थिईन । भन्सार प्रमुख खत्रीका अनुसार एकगाडी तातोपानी नाका प्रवेश गराईएको उक्त स्वास्थ्य सामग्रीमा डिस्पोजल माक्स एकलाख ३० हजार, सर्जिकल माक्स ९ लाख ५१ हजार पाँचसय, पिपिई सेट एकहजार १ सय, थर्मोगन एकसय ८ र टेष्टकिट एकहजार पाँचसय प्राप्त भएको हो । उक्त सामग्री आज नै जिल्ला सदरमुकार चौतारा लगिएको भन्सार प्रमुख खत्रीले बताए ।
चीन सरकार अन्तर्गत नेपाल चीनको सीमाका नेलम काउन्ट्री सरकारले सिन्धुपाल्चोक जिल्लाका लागि करिब १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधब काफ्लेले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख अधिकारी, प्रहरी प्रमुख, जनस्वास्थ्य प्रमुख सिन्धुपाल्चोक र तातोपानी भन्सार कार्यालयका प्रमुखसहितको टोली पुगेका हुन् ।

कोरोनाबाट नेपालमा समेत संक्रमितको संख्या बढेसंगै नेलम सरकारको तर्फबाट छिमेकी मुलकसंगको सीमा जोडिएको सिन्धुपाल्चो्कलाई स्वास्थ्य सामग्री प्रदान गरिएको सम्भवत यो पहिलो अवसर भएको छ । यद्यपि यसअघि भएका जुरे पहिरो देखि भूकम्प घटनाका बेलामा समेत नेलम सरकारको तर्फबाट सिन्धुपाल्चोकलाई सहयोग र भाईचार सम्बन्ध हुँदै आएको छ । आगमी दिनमा समेत सिन्धुपाल्चोक जिल्लालाई आवश्यक सामग्री नेलम सरकारको तर्फबाट सहयोग गरिने बचन दिएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष शेर्पाले बताईन ।