‘हेल्थ डेस्क’ राखियो तर नाका सुचारु हुन सकेन

चैत्र २८, २०७६
तातोपानी (सिन्धुपाल्चोक) । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी अझै सञ्चालन आउन सकेको छैन् । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको भनिएपनि नाकाबाट स्वास्थ्य सामग्री बोकेको एउटा गाडी बाहेक अरु भित्रन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेका अनुसार मंगलबार नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका थिए । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोल्ने समझदारी भएपनि नाका सुचारु हुन नसकेको तातोपानीका स्थानीय बताउँछन् । सिमा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक यतिराज भट्टराईका अनुसार नाकामा हेल्थ डेस्क राखिएपनि नाकामा आवात जावत नभएपछि स्वास्थ्य परिक्षण गर्ने डाक्टर दिनभर कुरेर बसेका छन् । हेल्थ डेस्कको मापदण्डअनुरूप परीक्षण सकेर नाका खुलाइए पनि निरन्तरता पाउन नसकेको उनले बताए । गत मंगलबार भित्र्याईएको केही स्वास्थ्य सामग्री केही व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिए पछि उक्त सामग्री काठमाडौं पु¥याईएको हो । जसमा ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर रहेको थियो ।
बिहिबार सम्म नाकामा थप गाडी आवातजावत नभएको प्रहरी नायव निरिक्षक भट्टराईले जानकारी दिए । रसुवागढी नाका सुचारु गर्न स्थानीयले नमानेपछि तातोपानी नाका सुचारु हुन सक्ने सम्भावना रहेको व्यवसायीहरुको तर्क छ ।