मेलम्ची नगरपालिका राहत वितरणको तयारीमा

रबिन राई(दनुवार)
चैत २६ मेलम्ची (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले राहत वितरणको तयारी गरेको छ ।
बुधबार मेलम्ची नगरपालिकामा बसेको बिपत ब्यबस्थापन समितिको बैठकको निर्णय अनुसार मेलम्ची नगरपालिका राहत वितरणको तयारीमा लागेको हो।
मेलम्ची नगरपालिका भित्र रहेका लकडाउनको प्रभावका कारणले गर्दा आवश्यक खाद्यान्न जुटाउन नसक्ने गरीब असहाय ज्याला मजदुर गर्ने मानिसहरुलाई नगर भित्र रहेकोे प्रत्येक वडाका वडा अध्यक्षको नेतृत्वमा आवश्यक खाद्यान्न राहत सामाग्री वितरण गरिने मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्यालले जानकारी दिए ।
उनका अनुसार चैत २७ गते बिहीबार देखिनै नगर भित्र रहेको प्रत्येक वडाका वडा अध्यक्षले आ–आफ्नो वडा भित्र रहेको गरीब असहाय ज्याला मजदुर गर्ने व्यक्तिहरुको तथ्याङ्क सङकलन गरी खाद्यान्न राहत वितरण थालिने उनले बताए ।
लकडाउनको गहिरो प्रभाव परेको नगरबासी जसको घर नभएको सुकुम्बासी दैनिक काम गरे मात्र जीवनयापन गर्न सक्ने तर दैनिक काम नपाए जीवनयापन गर्न कठिनाइ हुने मानिसहरुलाई पनि खाद्यान्न राहत सामाग्री वितरण गरिने नगर प्रमुख अर्यालले बताए ।
उनले नगर भित्र रहेको लकडाउनको गहिरो प्रभाव परेको असहाय व्यक्तिहरुलाई खोजी खोजी राहत दिइने र नगरबासिलाई लकडाउन अबधिभर भोक भोकै नराख्ने प्रतिबद्धता जनाए ।