पासको दुरुपयोग गरी यात्रु बोक्ने गाडी प्रहरी नियन्त्रणमा

मेलम्ची (सिन्धुपाल्चोक) । लकडाउनको समयमा पासको दुरुपयोग गरी यात्रु बोक्ने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
१४ गते बिहान गस्तीमा खटिएको प्रहरी टोलीले चेकिङका क्रममा काठमाण्डौ बाट मेलम्ची तर्फ आउँदै गरेको बा ३ च ३४९० नं. को टोयोटा ल्याण्ड क्रुजर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिका–६ बस्ने कमल तामाङले चलाएको रोकी जाँच गर्ने क्रममा यात्रु बोकेको पाईएको हो । सो गाडीमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट माक्स खरिद गरी ल्याउनको लागि १२ गते जारी गरिएको सवारी पास दुरुपयोग गरी गाडीमा ४ जना बालबालिका सहित १३ जना यात्रु बोकेको फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए । उनका अनुसार पाँचपोखरी थाङपाल जान हिँडेको अबस्थामा गाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालय मेम्चीका प्रमुख प्रहरी निरिक्षक फल बहादुर तामाङले यात्रुहरु तथा सवारी चालकलाई विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणलाई रोक्न तथा त्यसको असरबाट बच्ने उपाय बारे सचते गराई छाडिदिएको हो ।