सिन्धुपाल्चोकमा दादुरा र रुवेला खोप भोलीबाट सुरु हुँदै

निर्मल बस्नेत
३० फागुन, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा भोली अर्थात चैत्र १ गतेबाट दादुरा र रुवेला खोप अभियान सूरु गरिने भएको छ ।
दुई चरणमा संचालन हुने उक्त खोपको बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आज सदरमुकाम चौतारामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा तथा रुवेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरणको खोप अभियान चैत १ देखि १० सम्म र दोस्रो चरणको खोप चैत १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले चैत्र १ देखि २५ गतेसम्म दुई चरणमा सञ्चालन हुने दादुरा र रुवेला खोप अभियान जिल्लाको १२ वटै स्थानीय तहमा सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको खोप अभियान चैत १ देखि १० गतेसम्म सञ्चालन हुनेछ । जसमा पहिलो चरणमा मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिका, ईन्द्रावती, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका रहेका छन् । त्यसैगरी दोस्रो चरणमा चैत्र १५ देखि २५ सम्म वलेफी, जुगल लिसंखुपाखर, त्रिपुरासुन्दरी, सुनकोशी, भोटेकोशी र बाह्रबिसे नगरपालिका रहेको छ । उनका अनुसार जिल्लामा ७ सय ८० खोपकेन्द्र र एकहजार ५ पाँचसय ६० स्वंयसेवक परिचालन गरी सात सय ८० जना नै खोप कार्यकर्ता रहने जनाईएको छ । कार्यालयका अनुसार जम्मा ३० हजार ७ सय चारजना समेटिने उक्त अभियानको लक्ष्य रहेको छ । वडा स्तरीय खोप समन्वय समिति हुँदै नगर र गाउँ र त्यसबाट समन्वय समितिमा आईपुगेपछि जिल्ला समन्वय समितिले अनुमोदन गरेपछि मात्रै जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा हुने वरिष्ट जनस्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए ।
उनका अनुसार स्थानीय जनप्रतिनिधिहरूका साथै फिल्डमा खटिने कर्मचारी, स्वयमसेवक तथा अन्य जनशक्तीको लागि दादुरा तथा रुवेला खोपसम्बन्धी एक दिने अभिमुखिकरण तालिम दिईसकेको छ । शनिबारबाट सञ्चालन हुन लागेको दादुरा तथा रुवेला खोप अभियान सञ्चालनमा जनप्रतिनिधिहरूले खेल्नुपर्ने भूमिकाको साथै खोप अभियानलाई प्रभावकारी बनाउन खोपकेन्द्र, त्यसमा खटाउने जनशक्ति, खोप मात्राको स्थिति लगायतका विषयमा छलफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ७० प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा खोप लगाउने गरेको तथ्याङ्क छ । सन् २०१९ सम्मपनि जिल्लामा दादुरा र रुबेलाका विरामी देखिएकाले खोप कार्यक्रममा आफ्रना बालबालिकालाई अनिवार्य लैजान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।