बाह्रबिसेमा यसरी मनाए शेर्पा समुदायले ग्याल्बो ल्होसार

२१ फागुन, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगर भित्र रहेका शेर्पा समुदायले हिजो ग्याल्वो ल्होसार विविध कार्यक्रम गरी मनाएका छन् । नेपाल शेर्पा संघ बाह्रबिसे नगर समितिको आयोजनामा राष्ट्रिय चाड नयाँ वर्ष च्या फो चिवा ल्हो २१४७ ग्याल्बो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम गरी मनाईएको हो ।
ग्याल्बो ल्होसार कार्यक्रमको उद्घाटन बाह्रसबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले गरेका थिए । कार्यक्रम उद्घाटन पछिको शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शेर्पाले नगरले सबै जातजातीको चाडपर्वलाई संरक्षण गरिएको बताए । ‘हामीले सबै समुदायको चाडपर्व र रीतिरिवाजलाई उत्तिकै महत्व दिएर सहयोग गरेका छौं’, मेयर शेर्पाले भने । लेकमा बस्ने शेर्पा समुदायले पछिल्लो पटक राजनीतिक रुपमा अग्रता लिदै गएको बताउँदै मेयर शेर्पाले समाजका सबै समुदायसंग भाईचारा सम्बन्ध राख्न चाहेको बताए । कार्यक्रममा विशेष अतिथि नेपाल शेर्पा संघका वरिष्ट उपाध्यक्ष ङवाङ सोनाम शेर्पा लगाएत स्थानीय जनप्रतिनिधि, अन्य संघसंस्थाका प्रतिनिधि विभिन्न कार्यालयका प्रमुख लगाएको सहभागिता रहेको थियो । बाह्रबिसेको खोर्सानीबारीमा गरिएको ल्होसार कार्यक्रममा शेर्पा समुदायले आफ्नो संस्कृति र भेषभुषाहरु अनुसार झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।