दोस्रो विश्वयुद्वका सेनानी थापाको निधन


९ फागुन, जलविरे (सिन्धुपाल्चोक) । दोस्रो विश्वयुद्वका सेनानी गेदबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ निबासी थापाको हिजो आफ्नै निवास जलविरेको सेराफाँटमा निधन भएको हो ।

वि.स १९८५ मा जन्मिएका थापकाको एक्कासी मुटुको धड्कन बढेपछि हिजो बिहान एघार बजे निधन भएको उनका नाती दिपेन्द्र थापाले बताए । सेनानी थापका एक श्रीमति ९४ वर्षिया भिमकुमारी, छोरा–छोरी, नाती–नातिना र पँलाती–पँलातीना समेत गरी लगभग ८० जना परिवार रहेको २ नम्बर वडाअध्यक्ष समेत रहेका उनका नाती दिपेन्द्रले जानकारी दिए । उनका अनुसार सेनानी थापाले १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा जापनसंग भएको लडाईमा जापानमा पुगेर गोर्खा सैनिकको रुपमा युद्धमा सहभागी भई अब्बल सेनानीको पदवी समेत पाएका थिए । लगभग ७० देशहरूका जल–थल–वायु सेनाहरू यस युद्धमा सम्मलित थिए । लगभग ६ करोड मानिसहरूको ज्यान गएको सो युद्वमा थापा जस्तै सयौं गोरखालीरुले बहादुरी कमाएका थिए ।

विश्व युद्वका सेनानी थापा २०१७ साल देखी २०४३ साल सम्म साविकको वतासे गाउँपञ्चायतको प्रधानपञ्च समेत रहेका थिए । २६ वर्ष निरन्तर जनप्रतिनिधिको रुपमा क्रियासिल थापा सामाजिक काममा समेत उतिनै क्रियासिल थिए । सिन्धुपाल्चोकको गुठी संघर्ष समतिमा समेत रहेर जनताको पक्षमा भूमि रैकर गराउन थापाको भूमिका अतुलनीय रहेको पाईन्छ ।