हेलम्बु गाउँपालिकाको ५० प्रतिशत भुक्तानी, चैत्रभित्रै सक्ने लक्ष्य


४ फागुन, किउल (सिन्धुपाल्चोक) । गत साल जिल्लाका १२ स्थानीय तहमध्ये तोकिएकै समयमा योजना तथा भुक्तानी दिएको भनेर चर्चा पाएको हेलम्बु यो साल पनि अग्रस्थानमै देखिएको छ । पालिकाले आव २०७६ को योजना चैत्र मसान्त भित्रै भुक्तानी सहित सम्पन्न गर्ने रणनीति लिएअनुसार फागुन नलाग्दै ९० प्रतिशत योजना सम्झौता गरी काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धुज्वालाई बताए ।
‘हाम्रो योजनाको काम ९० प्रतिशत सम्पन्न भईसकेको छ, अब ५० प्रतिशत मात्रै भुक्तानी दिन बाँकी छ’, पालिका अध्यक्ष शेर्पाले भने । उनका अनुसार यो प्रदेश र संघीय सरकारको योजना बाहेकको तथ्याङ्क हो । जसमा पूर्वाधार विकासमा मात्रै ५० प्रतिशत भुक्तानी भईसकेको अध्यक्ष शेर्पाको भनाई छ । ‘यस वर्ष पनि तोकिएकै समयमा योजना सम्पन्न तथा भुक्तानी दिईसक्छौं’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले भने । पालिकाको छिटो छरितो सेवाप्रभाव र उपभोक्ताको समयमै काम योजना सम्पन्न गर्ने परिपाटी बसेकाले लक्ष्य अनुसारको तोकिएकै समयमा काम सम्पन्न भएको उनले बताए । पालिकाले सबै योजनाहरुको प्रभावकारी ढंगले अनुगमनलाई निरन्तरता समेत दिएको प्रमुख प्रशासकीय अधिकृत कोईरालाले स्पष्ट पारे ।
स्मरण रहोस हेलम्बु गाउँपालिकाको निकै चर्चामा ग्रेटट्रेल र नमुना विद्यालय लोकप्रिय योजना मानिन्छ ।