‘मुलुक अब समाजवादी दिशामा अगाडि बढ्यो’– पूर्व प्रम खनाल

४ फागुन, खाडीचौर (सिन्धुपाल्चोक) । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले मुलुक अब समाजवादी दिशामा अगाडि बढेको बताएका छन् । हिजो खाडीचौरमा तमु, सोनाम, ग्याल्वो ल्होसार पर्व सहित नेकपाले गरेको विशाल कार्यक्रमका प्रमुख अतिथी रहेका नेता खनालले पार्टीको दोस्रो पूर्ण वैठकले समाजवादी व्यवस्थाको लागि आधार तयार गरेको उद्घोष गरे । अबको आवश्यकता समाजवादी शिक्षा नीति, समाजवादी स्वास्थ्य व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास रहेको उनले औंल्याए ।

सिङ्गो देशलाई औद्योगीकरणको रुपमा लैजान पर्ने तर्क राख्दै नेता खनालले भने,‘ यो देशको कृषिलाई कसरी समाजवादी कृषिको रुपमा रुपान्तरित गर्न सकिन्छ, पार्टीले खाका तयार गरेको छ ।’ अबको नयाँ शिक्षा नीतिमा कुनै बालबालिका शिक्षाबाट विमुख नबनाईने उनले ठोकुवा गरे । वर्तमान सरकार पूर्ण रुपमा सफल भएको बताउँदै नेता खनालले सरकार १३ वटा मौलिक ऐनहरु मार्फ अगाडी बढ्न चाहेकोे बताए ।

पार्टीको आन्तरिक व्यवस्था मिलाउन दुई वर्ष लागे पनि अब पार्टी अगाडी बढेको उनले बताए । ‘मन र भावना मिलाउने कुरा निकै कठिनायी हुनेरहेछ’, नेता खनालले भने । पार्टीको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकबाट पार्टीलाई सुदृढिकरण र व्यवस्थित बनाउँदै दुरगामी महत्वका निर्णहरु गर्न सफल भएको उनले दावी गरे । पार्टीले बनाएको विधान अनुसार अध्यक्षद्वोय तथा तमाम कार्यकर्ताले अनुसरण गर्ने उनले जोड दिए । सम्बोधनकै क्रममा नेता खनालले सिन्धुपाल्चोकको पिस्कर हत्याकाण्डलाई पार्टीले गहिरो स्मरण गरेको बताउँदै पिस्कारका थामी जातीले गरेको योगदानलाई पार्टीले सदैव सम्झिरहनु पर्ने बताए । कार्यक्रमा विशेष अतिथि अमृतकुमार बोहोरा, शेरबाहादुर तामाङ, कृष्णप्रसाद सापकोटा लगाएतले सम्बोधन गरेका थिए । जिल्लाको वलेफि गाउँपालिका वडा नम्बर ७ अन्र्तगत खाडीचौरमा भएको सो कार्यक्रम नेकपा प्रतिनिधी सभा क्षेत्र नम्बर १ ले आयोजना गरेको थियो । कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस परित्याग गरी संयौको संख्यामा नेकपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।