
सुकुटे महोत्सवमा प्रचण्ड आउने

२० हजार पर्यटन भित्र्याउने, चारदिन सम्म खानबस्न भारी मात्रामा छुट
दिनेश दुलाल
माघ २२, सुकुटे, (सिन्धुपाल्चोक) । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० अन्र्तगत रहेको सुकुटेमा ’सुकुटे महोत्सव‘ हुने भएको छ । महोत्सव उद्घाटनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आउने भएका छन् । साहसिक जलयात्राका लागि उत्कृष्ट नदिहरुमध्ये सातौ स्थानमा पर्ने भोटेकोशी, ब्रह्मायणी र सुनकोशी नदिको किनारामा अवस्थित सुकुटे क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । सुकुटे महोत्सवलाई केन्द्रित गरी आज आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराईएको हो । सुकुटे क्षेत्रलाई केन्द्रबिन्दु बनाई त्यहाँ आउने पर्यटकलाई जुगल हिमाल, भैरबकुण्ड, तातोपानी, ओख्रेनी, पाँचपोखरी मुढे लगायतका अन्य स्थानहरुमा समेत लैजना सकिने सुकुटे महोत्सवको आयोजक रहेको सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सुकुटे महोत्सवमा जाऔं भ्रमण बर्ष २०२० सफल पारौं भन्ने मुल नारा दिएर सुरु गर्न लागिएको महोत्सवले समग्र जिल्लाको पर्यटन क्षेत्र विकासका लागि सुकुटे घोषणा–पत्र समेत जारी गरिने व्यवसायी संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रथम सुकुटे महोत्सवको उद्घाटन नेकपा अध्यक्ष प्रचण्डले गरेपनि समापन भने सभामुख अग्निप्रसाद साकाटा सरिक हुने आयोजकले बताएको छ ।
भोटेकोशी रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले पर्यटकीय क्षेत्र ’सुकुटे‘ जिल्लाको मात्र नभई देशकै ब्रान्च भएकोले सुकुटे महोत्सव गर्न लागिएको बताए । ’सुकुटे महोत्सव भनेको यो क्षेत्रको मात्र होईन जिल्लाको अन्य पर्यटकीय क्षेत्रको विकास पनि हुन्छ‘, नगरप्रमुख तामाङले भने । स्थानीय स्तरमा उत्पादित भएका बस्तुहरुलाई प्राथमिकता दिनुनै महोत्सवको धेय भएको मेयर तामाङको कथन छ । कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सुकुटे महोत्सवले होम स्टेको विकास गर्नुपर्ने धारणा राखे । पत्रकार सम्मेलनमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे लगाएतले आफ्नो धारणा राखेका थिए । झण्डै ६० लाख खर्च लाग्ने अनुमान गरिएको पर्यटन महोत्सवमा स्थानीय कलासंस्कृतिलाई प्राथमिकता दिने आयोजकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिका प्रर्वद्वक महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वागमती प्रदेश, नेपाल पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय सिन्धुपाल्चोक सहयोगी रहने छन् । महोत्सवमा २० हजार मान्छे ल्याउने आयोजकको तयारी छ ।
स्थानीय उत्पादन र स्थानीय संस्कृति पर्यटन, जलयात्रा र नदि संरक्षण, पर्यटन प्रबद्र्धन र लगानी बिषयलाई बिशेष बहसको बिषय बनाएर जाने योजना रहेको सिन्धुपर्यटन परिषद्का जिल्ला अध्यक्ष मिलन तामाङले जानकारी दिए । राजधानी काठमाण्डौबाट ६८ कि.मि टाढा रहेको सुकटे क्षेत्रमा दर्जनौं रिसोर्ट संचालनमा रहेको छ । २० हजार मान्छे सहभागी गराउने महोत्सवको अवसरमा ४ दिन सम्म सुकुटे क्षेत्रका होटल तथा रिसोर्टहरुमा भारी मात्रमा छुट गर्ने व्यवस्था मिलाईएको सुनकोशी बीच क्याम्पका सञ्चालक अञ्जान खड्काले जानकारी दिए ।
कार्यक्रमको प्रस्तावना गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा जनहित ग्रामिण सेवा समितिका प्रमुख राजेन्द्र शर्माले गरेका थिए ।
महोत्सवको लागि माघ २ गते चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ र वलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीको संयोजनमा बैठक बसेको थियो । प्रवद्र्धन तथा संयोजन समिति अन्र्तगत सचिवालय गठन तथा विभिन्न क्षेत्रसंग समन्वय गरिएको कार्यक्रम प्रस्तोता राजेन्द्र शर्माले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुकुटे महोत्सव कोशेढुङगा बन्ने शर्माले दावी गरे । महोत्सवमा स्थानीय उत्पादन र स्थानीय संस्कृती झल्कने मौलिक कुराहरुको प्रदर्शनी गरिने पूर्व शिक्षक तथा होटल व्यवसायी कृष्ण सापकोटाले बताए । महोत्सवमा करिव ५ करोडको आर्थिक कारोवार हुने आयोजकको ठम्याई छ ।
कार्यक्रममको सुरुवात प्रमुख अतिथि सहित बलेफीबाट सुनकोशी बगरमा र्याफ्टीङ, जेट वोर्ड र प्याराग्लाइडिङ, साइक्लीङ र वेलुन सहित ड्रोनको प्रयोग गरी कार्यक्रम उद्घाटन हुने आयोजकले जनाएको छ ।