सभामुखमा अग्नि सापकोटा प्रस्तावित

माघ ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा नेता अग्नि सापकोटालाई सभामूख बनाउन सहमत देखिएका छन् । दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामूख बनाउने सहमति भएको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकबाट औपचारिक अनुमोदन गर्ने जनाइएको छ ।
सभामुखमा नेता अग्नि सापकोटा, सुवासचन्द्र नेम्वाङ, हरिबोल गजुरेल, देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा थियो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले अग्नि सापकोटाको विषयमा प्रमुखताका साथ छलफल चलाएका थिए ।
शनिबार मात्रै सभामुखकै विषयमा प्रचण्डले अग्नि सापकोटालाई भेटेर छलफल गरेका थिए । उनले सापकाटोलाई तयार रहन आग्रह गरेको विषय बाहिरिएको थियो ।
यसअघि पुस २३ मा पार्टी सचिवालय सदस्य बामदेव गौतम निवास भैंसेपाटीमा बसेको पार्टीका शीर्ष नेताहरुको छलफलमा प्रचण्डको प्रस्तावलाई नै अन्तिम मान्ने सहमति भएको थियो । भैंसेपाटी छलफलमा पनि पूर्वमाओवादीका नेताहरु अग्नि सापकोटा र हरिबोल गजुरेलबारे गम्भिर छलफल भएको थियो ।
सत्तारुढ नेकपाले सभामुखको विषय टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक स्थगित हुँदै आएको छ । गत पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।
स्रोतः खवरडबली