वार्ता टुङ्गियो, आन्दोलन बन्द गर्ने र प्रतिवेदन समिति बनाउने गरी दुईबुँदे सहमति

माघ ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसेमा दुईदिन अघिको जारी तनाव आज वाताद्वारा टुङ्गो लागेको छ ।
बाह्रबिसे नगरपालिकाको कार्यालयमा आज बेलुका ६ बजे प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको समन्वयमा नगरपालिका र आन्दोलनकारीबीच वाता भई दुईबुँदे सहमति भएको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए । उनका अनुसार आन्दोलनकारीले आन्दोलन बन्द गर्ने र प्रतिवेदन समिति बनाउने गरी सहमति भएको हो ।
जसअनुसार सातदिन भित्रमा ९, ४ र ३ नम्बर वडाअध्यक्षले बजारको पुनः रिपोर्ट बनाएर प्रतिवेदन बुझाउने र कार्यान्वयन गर्ने सहमति भएको छ । जसको लागि बाह्रबिसे नगरपालिकाको तर्फबाट राजश्वप्रमुखलाई संयोजक तोकिएको छ । मेयर शेर्पाका अनुसार राजश्वप्रमुखको नेतृत्वमा बनेको टिमले मापदण्ड भित्र रहेका बाँकी टहरा कति भत्काउने वा अन्य अवरोध कति हटाउने भनेर प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार कार्यन्वयन हुनेछ । उक्त प्रतिवेदन टिममा संयोजक युगबहादुर खड्का, सदस्य सुरेन्द्र नेपाल, ३ का वडाअध्यक्ष टेकबहादुर भण्डारी, ४ का वडाअध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ र वडा नम्बर ९ का अध्यक्ष सानुकान्छा तामाङ रहनेछन् । दुईघण्टा लामो उक्त बैठकमा नगरप्रमुख निमफुञ्जो शेर्पा, उपप्रमुख शुशिला पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल, प्रजिअ गोमादेवी चेम्जोङ, प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जन, स्थानीय सरोकार समुह हरिशरण श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सडक डिभिजन कार्यालय चरिकोटका ईन्जिनिएर सुमन श्रेष्ठ लगाएत सहभागी थिए । आज बिहानैबाट कफ्र्यु लगाएपछि बजार पुरै बन्द भएपनि कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।