बाह्रबिसेमा कफ्र्यु

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रबिसेमा कफ्र्यु लगाएको छ । आज विहान ८ बजे देखी बेलुका ५ बजे सम्मका लागी भन्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले कफ्र्युको आदेश गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी चेम्जोङद्वारी आज विहान जारी गरेको आदेशमा भनिएको छ, ‘बाह्रबिसे नगरपालिका ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु मिति २०७६÷१० ÷३ गते नगरपालिकाले हटाएको विषयमा असन्तुष्ट पक्षबाट मिति २०७६÷१०÷४ गते शनिबार बजार क्षेत्रमा नारा जुलुश गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला तोडफोड समेत गरेकोले मिति २०७६÷१०÷५ गते हुलदंगा र अशान्ती हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०७६÷१०÷५ गतेबाट विहान ८ बजे दखि बेलुका ५ बजे सम्म अर्को व्यवस्था नभए सम्मको लागि हुलदंगा वा अशान्ती गर्ने उद्देश्यले एक ठाउँमा पाँचजना भन्दा बढी भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ ।’
प्रजिअ चेम्जोङले जारी गरेको कफ्र्यु आदेश पत्रमा पूर्व बाह्रबिसे बजारबाट ३०० मिटर, पश्चिम भोटेकोशी खोला पुल राम्चे र दक्षिण बाह्रबिसे बजारबाट पिस्कर÷क्षमादेवी जानेबाटोके सुनकोशी चोक सम्म तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा गरिएको कफ्र्यु आदेश पत्र

यसैबीच शनिबार भएको घटनाको बारेमा सर्वसाधारणमा सत्यतथ्य जानकारी गराउने उद्देश्यले आज विहान आयोजना गरिएको पत्रकार सम्मेलन स्थगित नहुने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘हाम्रो कुनै हुलदंगा र अराजकता निम्त्याउने किसिमले पत्रकार सम्मेलन गर्न लागेका होईनौं, शान्तीपूर्ण तरिकाले जनातालाई घटनाको यथार्थ बारेका जानकारी गराउने हिसाबले गर्न लागेका हौं’, नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।
उनका अनुसार आज बिहान ९ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको छ । जिल्ला तथा राष्ट्रिय स्तरका पत्रकार बोलाईसकिएको उनले जानकारी दिए ।