बाह्रबिसे बजारको अवरोध हटाएको निहुँमा कांग्रेसको नेतृत्वमा कार्यालय तोडफोड र तालाबन्दी

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले सडक मिचेर बनाईएको टहरा तथा अवरोध हटाएको निहुँमा कांग्रेस समर्थकले आज बाह्रबिसे नगरपालिकाको कार्यालयमा तोडफोड र तालबन्दी गरेका छन् ।
प्राप्त समाचार अनुसार आज बिहान कांग्रेस नेता हरिशरण श्रेष्ठको नेतृत्वमा केही युवाहरुले बाह्रबिसे बजारमा नाराबाजी गर्दै नगरपालिका कार्यालयमा पुगेर कार्यालय तोडफोड गरिएको बताईन्छ । नगरपालिकाको विरुद्व नाराबाजी पछि कार्यालयमा पुगेर तालाबन्दी गरेको नगरपालिकाका सल्लाकार शितल मोक्तानले जानकारी दिए । ‘कार्यालयमा तालाबन्दी गरिएको छ के कति तोडफोड भयो भन्ने कुरा प्राप्त विवरण आउनै वाँकी छ’, मोक्तानले भने । ईलाका प्रहरी कार्यालय नजिकै भएपनि प्रहरी मुकदर्शक भएको स्थानीयको भनाई छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले घटनाको बारेमा बुझ्न प्रहरी नायव उपरिक्षक माधव काफ्लेको नेतृत्वमा प्रहरी खटिसकेको उनले बताईन । दिउस ३ बजे बाह्रबिसे पुगेका डिसपी माधव काफ्लेले कार्यालयमा तालाबन्दी तथा केही तोडफोड भएको बताएका छन् । ‘कार्यालयमा तादबन्दी भएको र केही गमला फुटाएको देखियो, बाँकी के कति क्षति भएको छ हामी बुझ्दै छौ’, डिएसपी माधव काफ्लेले सिन्धुज्वालाई बताए ।

यसैबीच उक्त घटनाको विषयलाई लिएर बाह्रबिसे नगरपालिकाले भोली बिहान पत्रकार सम्मेलन गर्ने भएको छ । ‘जिल्ला प्रशासन, प्रहरी तथा स्थानीयको सहयोगमा हामीले बजारको अवरोध हटाएपछि त्यसको विरुद्वमा केही गुण्डाहरु परिचालित गरेर हाम्रो योजनालाई असफल बनाउने दुस्प्रयास गरिएको छ, यसैलाई चिर्न हामी भोली पत्रकार सम्मेलन गर्न लागेका छौं’, बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले भने, ‘कार्यालम्म तोडफोड र तालाबन्दी हुँदा प्रशासनले त्यति सहयोग गरेको हामीलाई लागेन ।’ प्रशासन र प्रहरीको भूमिका सन्तुलन नभएको उनले आरोप लगाए ।