
झरीमा रुझ्दै अवरोध हटाउँदै बाह्रबिसे नगरपालिका

माघ ३, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको महत्वपूर्ण व्यापारी नाका बाह्रबिसे बजारको अस्तव्यस्तताई अन्त्य गर्न भन्दै अवरोध हटाउन थालेको अभियानलाई बजारका स्थानीयले अटेर गरेपछि नगरपालिकाले आँफै सुरुवात गरेको छ । एकसाता अघि बाह्रबिसे नगरपालिका र जिल्ला प्रशासन कार्यालयले बजारको संयुक्त रुपमा अनुगमन गरेर माघ १ गते सम्मलाई स्थानीय आफैंले हटाउन समय तोकीएको थियो । तर हिजो सम्म स्थानीयले अटेर गरेपछि आज विहान ८ बजेबाट प्रहरीको समेत साथ लिई नगरपालिकाको अगुवाईमा अवरोध हटाउन सुरुवात गरिएको हो । बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पा झरीमा रुझ्दै अवरोध हटाउन बजारमा निस्किएका थिए ।
विहानै देखि झरी परेपनि बजारका अन्य युवाहरुले समेत नगरपालिकालाई साथ दिएको थियो । ‘नगरको पटक–पटकको निर्णयलाई बजारबासीले अटेर गरेपछि हामीले बल प्रयोग गर्न वाध्य भएका हौं’, नगरप्रमुख शेर्पाले भने । बजारबासीहरुलाई समेत राखेर व्यापक छलफल पछि अवरोध हटाउने भनिएपनि कार्यान्वयन हुन नसक्दा पछिल्लो निर्णयमा पुग्न परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए ।
। मेयर शेर्पाका अनुसार आज बिहानबाट सुरुवात गरिएको अवरोध हटाउने कार्य प्राथमिक स्वास्थ्य केन्द्र नजिकबाट सुरुवात गरिएको थियो । सुरुमा वर्कसप राखेका निकेस श्रेष्ठको टहरा हटाउन लाग्दा स्थानीय संग केही विवाद भएपनि झडप भने नभएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्राप्त समाचार अनुसार अहिले सम्म बाह्रबिसे बजारको पुलवारी राम्चेपटी २० टहरा तथा अवरोध हटाइएका छन् । बजारका स्थानीयले नगरपालिकाको पटक पटको आग्रहलाई अटेर गरी नालीमा पसल देखि खसी पाल्ने सम्मका अवरोधहरु बनाएर बजारलाई अस्तव्यस्त बनाएको मेयर शेर्पाको भनाई छ । पटक–पटकको आग्रहलाई नमानेपछि आफुले बजारको अस्तव्यस्तलाई सामन्यकरण गर्न एकहप्ता अगाडि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय समेत रहेर बजार अनुगमन गरिएको मेयर शेर्पाले सुनाए । अवरोध हटाउँदा कसैले जर्वजस्ती गरे जरिवाना र कानुन अनुसार कारबाही समेत गरिने उनले बताए । बजारमा रहेको अवरोध हटाउन मेयर शेर्पाको अगुवाईमा नेपाल प्रहरी, सशस्त्र र नगरप्रहरी तथा स्थानीय युवाहरु समेत लागेका थिए ।