जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्दै लिसंखुपाखर, पूँजिगत प्रगति ९८ प्रतिशत

पौष २२, लिसंखु (सिन्धुपाल्चोक) लिसंखु पाखर गाउँपलिकाले जनमैत्री योजनाहरु ल्याएपछि उक्त गाउँपालिका अहिले निकै चर्चामा पुगेको छ । गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा सम्पन्न गरेसंगै गाउँपालिका विकास र सेवामैत्री बन्न पुगेको हो । पालिकाले समिक्षा कार्यक्रममा पेश गरिएको प्रगति प्रतिवेदन अनुसार ९८ % पूँजीगत खर्चको प्रगति सहित समग्रमा ८८.०१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । जुन अहिले सम्मकै उल्लेख्य प्रगति हो । आ.व. ०७५÷०७६ को विनियोजित रकम जम्मा रु ३३,२९,५६,६६६ (संशोधन सहित) रहेकोमा रु २९,३०,४४,८६२ खर्च भएको छ । गत आ.व.को योजना, कार्यक्रम र सेवा प्रवाह सम्बन्धि कार्यहरुमा गाउँपालिकाले उल्लेखनीय सफलता हाँसिल गरेको सो पालिकाले जनाएको छ ।

गाउँपालिकाका कार्यहरु सफल हुदैं जानुमा जनप्रतिनिधिहरुको सक्रियता, कर्मचारीहरुको लगनशीलता र नागरिकहरुको विकास प्रतिको चासो, सहकार्य र आपसी समन्वय नै प्रमुख कारण रहेको गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालले बताए । ‘जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच काममा एकरुपता छ यसैकारण हामीले सोचेको जस्तो सफलता प्राप्त गरेका छौं’, गाउँपालिका अध्यक्ष नेपालले भने । विगतमा भन्दा योजनाहरुको गुणस्तरमा वृद्धि हुनुमा सबै वडाहरुमा प्राविधिक कर्मचारीहरुको व्यवस्थापन, उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनिवार्य अनुशिक्षण र प्रभावकारी अनुगमन नै रहेको उपाध्यक्ष हेमगंगा मोक्तानको तर्क छ । त्यस्तै सेवाप्रवाह र योजनाका कार्यहरुमा अपेक्षित प्रगति हासिल गर्नुमा कार्यतालिका बनाई योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नु र सबै जनप्रतिनिधि, कर्मचारीहरुबीचका क्रियाशीलता र तालमेल नै प्रमुख कारण रहेको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले बताए ।

लिसंखुका सबै कार्यालयहरु ई हाजिरी र सेवाग्राहीमैत्री
लिसंखुपाखर गाउँकार्यपालिका कार्यालय, सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र विद्यालयहरुमा ई हाजिरीको व्यवस्था मिलाइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार गाउँपालिका र वडा कार्यालयहरुमा ई बिलिङको व्यवस्था गरेको छ । सबै वडा कार्यालयहरुमा प्रशासनिक र प्राविधिक कर्मचारीको व्यवस्थापन गरिएको र सेवाग्राहीमैत्री बनाईएको छ । यसैगरी सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी र पारदर्शी बनाईएको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए । ‘सेवा प्रवाहलाई जनमुखी र विकेन्द्रीत बनाउने गरी कार्यालयका कामहरुलाई सोही अनुसार कार्यविभाजन गरेका छौं’, दुलालले भने ।

गर्भवती महिलालाई भिडियो एक्सरे निशुल्क
लिसंखु पाखर गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी र १ सामुदायिक इकाई सहित ७ वटा स्वास्थ्य संस्था मार्फत सेवा प्रदान हुँदै आएको छ । जसमध्ये ३ वटा वर्थिङ सेन्टर समेत रहेको छ । जसमा ७ वटै स्वास्थ्य संस्था मार्फत निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको गाउँपालीकाले जनाएको छ । गाउँपालिकाका अनुसार नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा उपलब्ध गराउनुका साथै स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । जसमा पूर्णखोप सुनिश्चितालाई दिगोपन दिने कार्यक्रमहरु बनाइएका छन् । गर्भवती महिलालाई निशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गरिएको छ । गर्भवती महिलाको प्रजनन स्वास्थ्य र पोषणमा सुधार ल्याउन तथा जिरो होम डेलीभरीको कार्यक्रम सफल बनाउन प्रत्येक पटक गर्भ जाँच गराउँदा १ क्रेट अण्डा र १ के.जि. गेडागुडी प्रदान गर्ने कार्यको शुभारम्भ भएको पालिकाले जनाएको छ । त्यस्तै बर्थिङ सेन्टरमा बच्चाको जन्म पछि टावल, नैनी र साबुन १÷१ थान उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
सामुदायिक विद्यालयहरुको सुदृढीकरण अभियान
लिसंखु पाखर गाउँपालिकाले गाउँपालिका क्षेत्रमा रहेको १ वटा क्याम्पस सहित ३० वटा शिक्षण संस्थाहरुको सुदृढीकरण अभियान थाल्ने भएको छ । गाउँपालिका क्षेत्र भित्रका सबै बालविकास केन्द्रहरुलाई मन्टेश्वरी विधिमा लैजान त्यसमा कार्यरत सबै स.का.हरुलाई ५ दिने तालिम सम्पन्न गरेको छ । सबै विद्यालयहरुमा ई हाजिरीको व्यवस्था गरिएको छ । प्र.अ र गाउँपालिकाबीच मासिक प्रगति बैठक सञ्चालन गरेको छ । विद्यालय र शिक्षकहरुको मूल्यांकनको लागि कार्यविधि तयार गर्न शुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी कार्यसम्पादन सम्झौता तयारी गरिएको समेत जनाईएको छ ।
लक्षित वर्गका समिति र सञ्जालहरु गठन
यसैगरी महिला तथा बालबालिका शाखातर्फ सबै वडाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गहरुको वडा स्तरीय समिति गठन गरेको छ । बाल अधिकार सम्बन्धी र कार्यविधि तयार गरि वडा स्तरीय र गाउँपालिका स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । त्यस्तै बाल अक्षयकोष स्थापना गरि बालक्लबहरु गठन, पालिका स्तरीय महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गको संजाल गठन गरी लक्षित वर्गका कार्यक्रमहरु सोही सरोकारवाला समितिहरुको सहभागितामा गरिएको जेष्ठ नागरिक र अपाङ्गहरुको परिचय पत्र गाउँपलिकाबाट प्रदान गर्न सुरु गरिएको छ ।
१ % ब्याजदरमा पशुपालन कर्जा
कृषि तथा पशु विकासतर्फ पशुपालन व्यवसायमा संलग्न कृषकहरुलाई १ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्न कोष स्थापना गरिएको छ । सो कोषबाट व्यावसायिक रुपमा पशुपालन गर्न ईच्छुक कृषकलाई १ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने प्रक्रिया शुरुवात भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै आन्तरिक परजिवीको औषधी तथा खोप सेवा घर दैलोमा प्रदान गरिएको छ । पालिकाका अनुसार उन्नत नश्ल सुधारको लागि राँगा वितरण तथ बोका वितरण कार्य जारी रहेको छ । माछा पालन गर्ने कृषकहरुलाई माछाको भुराहरु वितरण गरिएको छ । मौरीपालक कृषकहरुलाई मौरी घार सहयोग गरिएको जनाएको छ । त्यस्तै मिनी टिलर, मल्टि क्रप, थ्रेसर र स्प्रेयर तथा हिउँदे तथा वर्षे फलफूलका बिरुवाहरु वितरण गरेको छ । त्यस्तै किवी कृषकका लागि टि बार व्यवस्था गरिएको भने सिताके च्याउ उत्पादनको लागि रु २५,००० बराबर सहयोग र कन्ये च्याउको लागि कृषकहरुलाई तालिम तथा बिउ वितरण गरेको छ । तरकारी उत्पादक कृषकको लागि बिउ बिजन वितरण गरिएको छ । कृषकहरुको लागि आईपिएम पाठशाला संचालन गर्नुका साथै कृषि सिंचाईको ४ ओटा कुलो निर्माण लगायतका कार्यहरु सम्पन्न गरिएको व्यहोरा समिक्षा बैठकमा प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए ।
०७६÷०७७ को प्रथम चौमासिकमा पनि २५ % भौतिक र २२ % पूँजीगत खर्च
यसैगरी लिसंखुपाखर गाँउपालिकाले आ.व. २०७६÷०७७ को प्रथम चौमासिकको प्रगति बिषयमा समेत समिक्षा बैठक गरेको छ । बैठकमा प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले आ.व. ०७६÷०७७ को वार्षिक बजेट रु ४५,९३,६५,७७५ बिनीयोजन भएको बताए । उनका अनुसार प्रथम चौमासिक समिक्षमा बैठकमा समेत सकारात्माक संकेतहरु देखा परेको थियो । प्रथम चौमासिक अवधिमा झरी तथा दशै तिहार जस्ता ठूला चाडहरु पश्चात् शुरु भएको विकास निर्माणका कामहरुमा कार्यान्वयनको प्रगति अत्यन्तै सन्तोषजनक रहेको प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार प्रथम चौमासिक अवधिमा पँुजीगत खर्चतर्फ २२ प्रतिशत सहित समग्रमा १८ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको थियो । प्रथम चौमासिकमा गरिएको कामहरुका बारेमा प्रकास पार्दै दुलालले योजना शाखाबाट गरिएका सकारात्मक प्रयासहरुमा गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । त्यस्तै वर्षिक योजना तथा कार्यक्रम संचालन कार्यतालीका स्वीकृत गरि योजना तथा कार्यक्रम संचालन भएको, गाउँपालिकाको आफ्नै दररेट स्वीकृत गरि कार्यान्वयन साथै मूल्य निर्धारणमा पुनरावलोकन गरी प्रत्येक वडाका लागी छुट्टा–छुट्टै मूल्य निर्धारण तयार गरिएको उनले बताए । उपभोक्ता समितिका पदाधिकारीहरु, सम्पुर्ण सदस्यहरु एवं. अनुगमन समितीका सदस्यहरुलाई अनुशिक्षण कार्यक्रमको व्यवस्था मिलाईएको तथा उपभोक्ता समिति मार्फत सचांलन हुने योजनाहरुको सम्बन्धित वडामानै गाउँपालिकाबाट टोली गई सम्झौता गरिने व्यवस्था मिलाईएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार सम्पन्न भई सकेका योजनाहरुको (भौतीक प्रगति) २५ प्रतिशत रहेको छ भने योजनागत बित्तिय प्रगति) २२ प्रतिशत रहेको छ । कुल १०१ योजना तथा कार्यक्रमहरु मध्ये ६६ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
समग्रमा लिसखुं गाँउपालकिामा सिहंदरबारको सरकार गाउँगाउँमा भन्ने नारालाई नारामा मात्र सीमित होइन बास्तविकतामा नै लागु भएको एक स्थानीयले सिन्धुज्वालालाई बताए । पालिकाका अनुसार ३५ वटा भन्दा बढी ऐन, नियमहरु निर्माण भई कार्यान्वयनमा आएका छन् । गाँउपालिका अध्यक्ष कमलप्रसाद नेपालको कुसल नेतृत्वका कारण पनी स्थानीय नागरिकहरु विकास कार्यक्रममा सहजताका साथ संलग्न भएका कुराहरु समिक्षा बैठकमा सहभागी जनप्रतिनिधिहरुले धारणा राखेका थिए । समिक्षा बैठकमा आर्थिक परिचालन विकासको महत्वपूर्ण सुचक रहेकाले यसको नतिजा सन्तोषजनक आउनु गाउँपालिकाको विकासले सकारात्मक बाटो लिएको संकेत भएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले वताए । उनले उक्त कार्य आफु एक्लैले नभइ सबै जनप्रतिनिधी कर्मचारी तथा स्थानीय नागरिकको सहयोगमा सफलताको बाटोमा गएको बताए । कर्मचारी र जनप्रतीनिधहरु बीचको समन्वय र सहकार्यका कारण गाउँपालिकाले विकासमा सकारात्मक फड्को मार्दै गरेको समेत अध्यक्ष नेपालले बताए । गाउँपालिकामा गठन भएको न्यायिक समितिको काम पनि प्रभावकारी बन्दै गएको चौमासिक समिक्षामा जानकारी गराइएको थियो ।