रत्नराज्य मावि चनौटेको अत्याधुनिक भवन उद्घाटन राष्ट्रपतिले गर्ने


पुष १७, चनौटे (सिन्धुपाल्चोक) जुगल गाउँपालिका–५ चनौटेस्थित रत्नराज्य माविको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा अत्याधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण सम्पन्न भएसंगै सोमबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने भएकी हुन् । चिनियाँ मापदण्ड र सुविधासम्पन्न विद्यालय भवन जिल्लाकै ‘चिनियाँ मोडेल’मा बनेको हो । उक्त भवन जिल्लाकै नमुना बनेपछि उक्त भवन जिल्लाबासीलाई देखाउन तथा पर्यटकीय सो क्षेत्रको प्रचारप्रसारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई लैजान लागिएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले सिन्धुज्वालालाई बताए । ’राष्ट्रपतिबाट विद्यालय भवनको उद्घाटन संगै यो क्षेत्रको थप विकासका योजना तथा पर्यटनप्रवधनमा सहयोग पुग्ने अपेक्षाले कार्यक्रमको आयोजना गरेका हौ‘, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार सो दिन राष्ट्रपति भण्डारीबाट उक्त भवन उद्घाटन भएसंगै विद्यालयलाई हस्तान्तरण गरिने छ ।

एक अर्बभन्दा बढी रकम लगानी भएको उक्त विद्यालय ६ वटा आधुनिक भवन निर्माण गरिएको हो । विद्यालयका प्रअ छन्द काफ्लेका अनुसार भवन निर्माणमा आवश्यक पर्ने बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो । निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए । आधुनिक भवन बनेसंगै छात्राबास भवन समेत बनेको छ । विद्यालयका अनुसार विगतमा कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो । विद्यालयमा सुविधायुक्त छात्रवास भवन बनेपछि कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । १७ डिसेम्बर २०१७ बाट भवन निर्माण सुरु भएको थियो । दुई वर्ष अवधिमा विद्यालयमा साना–ठूला ६ वटा भवन निर्माण गरिएको छ । भौतिक सुविधायुक्त विद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्न आवश्यक रहेको उनले बताए । ‘सुविधायुक्त भवनमा गुणस्तरीय शिक्षा दिने गरी विद्यालय प्रशासनले तयारी गरेको छ । चिनियाँ लगानीमा ठडिएको यस विद्यालयमा छात्र, छात्रा बस्ने ८४ वटा कोठा भएको ठूलो भवन छ । विद्यालयमा आधुनिक सुविधायुक्त होस्टल छ । त्यस्तै होस्टेलका कोठा पनि चिनियाँ मोडेलका छन् । चीनको राजधानी बेइजिङमा पढ्ने विद्यार्थीले पाएजस्तो सुविधा कक्षा कोठा र होस्टलमा प्राप्त छ । होस्टेलका प्रत्येक कोठामा एटेच बाथरुम, तातो–चिसो पानी र बेडरुको व्यवस्था छ ।

कक्षाकोठा २४ वटा छन् । विद्यालय प्रशासन चलाउन २२ कोठा छन् । विद्यालय छेवैमा ठूलो क्यान्टिन भवन छ । किचेन र डाइनिङ हल छुट्टाछुट्टै छन ।
बाहिर पनि थुप्रै कोठा भएको शौचालय छ । सुविधायुक्त लाइब्रेरी छ । जहाँ ५० वटा कम्प्युटरसहितको विज्ञान प्रयोगशाला र यथेष्ट शैक्षिक सामग्री राखिएका छन् । विद्यालयमा पाँच सय विद्यार्थी र २४ शिक्षक कार्यरत छन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिने उक्त कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण तयारी पुरा गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । राष्ट्रपति आउने दिन सो क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त बनाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।