एडीबिको सहयोगमा थकनीमा भव्य विद्यालय भवन

थकनी (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका वडा नम्बर–४ थकनीमा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयले नयाँ भवन पाएको छ ।
१४ कोठे नयाँ भवन शनिवार मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उद्घाटन गरेका हुन् । भूकम्पले विद्यालय भवन पूर्ण रुपमा क्षति भएपछि जिल्ला शिक्षा समन्वय ईकाई सिन्धुपाल्चोकको अगुवाईमा एशियाली विकास वैंक (एडीको) सहयोगमा निर्माण भएको हो । २०७३ सालमा निर्माण सुरु गरेर २०७६ असारमा सम्पन्न भएको उक्त भवनको भ्याट बाहेकको लागत ५ करोड ३६ लाख ७० हजार ८ सय १८ रहेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको नवनिर्मित उक्त विद्यालयको शैक्षिक भवन २, प्रशासनिक तथा प्रयोगशाला भवन १ र १ शौचालय निर्माण भएको छ ।

नवनिर्मित भवनलाई निर्माण कम्पनीले एडीबीलाई, एडीबीले जिल्ला आयोजना कार्यान्वयन इकाइकालाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले समुदायलाई हस्तान्तरण गरेको हो । भवन हस्तान्तरण तथा उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले गुणस्तरीय शिक्षाका लागि नगरले पहल गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख अर्यालले नगरको शैक्षिक योजना अन्तर्गत योग्य व्यक्तिलाई पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्ति गरी निश्चित शैक्षिक उपलब्धि हासिल गर्ने योजना रहेको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकले अरु शिक्षकसँग सम्झौता गर्ने र कामका आधारमा पुरस्कृत र दण्डित गरिने नीति समेत शैक्षिक योजनामा रहेको उनले प्रष्ट पारे ।

श्रमलाई सम्मान गर्ने शिक्षामा जोड दिंदै नगर प्रमुख अर्यालले शिक्षकहरुले पाठ्यपुस्तकमा मात्र केन्द्रित नभई पाठ्यक्रमलाई ध्यान दिन पर्ने उनले सुझाव दिए । जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख यमबहादुर खड्काले राम्रो भवनले मात्र गुणस्तरी शिक्षा नहुने हुँदा अझै मिहिनेत गर्न सुझाव दिए । कार्यक्रममा शिक्षासेवी केदारनाथ खनाल, विष्णुबहादुर विष्ट, अनिल थापा, कुलबहादुर राउत लगायतले मन्तव्य राखेका थिए । विद्यालयका प्रअ श्यामसुन्दर यादवले विद्यालयमा शैक्षिक ल्याव मात्र भएको तर प्रयोगशाला सामग्री नभएकोले उपलब्ध गराईदिन मेयर अर्याल संग आग्रह गरे । कार्यक्रममा विद्यालय निर्माणमा सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र खनालले गरेका थिए ।