७८ वटा राष्ट्रिय झण्डा फहराउँदै गुफाडाँडामा जलवायु दिवस मनाइने

चौतारा । (सिन्धुपाल्चोक) । गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । पहिलोपटक राष्ट्रिय जलवायु सम्मेलन भएको गुफाडाँडामा जलवायु दिवसका अवसरमा ७८ वटा राष्ट्रि झण्डाउत्तोलन र विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
गत बर्षको कार्यक्रमलाई स्थायित्व गर्न र उक्त ठाँउको प्रचारको लागि पुनः यसबर्ष पनि पौष १८ गते जलवायु दिवसका अवसरमा गुफाडाँडामा विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । ‘हरेक साल गुफा डाँडाँमा जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुनेगरी सिङ्गो मुलुककै ध्यानाकृष्ट गराउन कुनै न कुनै गतिविधि सन्चालन गरिरहने छौ,’ बुधबार पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय प्रमुख तामाङले भने ।
गत साल राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गरेकी थिइन । सो क्रममा गुफाडाँडामा ७८ वटा झण्डा फहराइएको थियो भने यस बर्ष नयाँ झण्डा फहराइने जिल्ला समन्वय समितिका प्रमुख कष्णगोपाल तामाङले बताए । सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम सहित हरेक स्थानीय तहमा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला समेत हुने तामाङले जानकारी दिए । जिल्लाका १२ स्थानीय तहका उतकृष्ट १२ जनालाई गुफाडाँडामा प्रस्तुती गर्न लगाईने समेत उनले बताए ।
यसरी मनाईने छ जलवायु दिवस
जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङका अनुसार १८ गते गुफा डाँडामा जलवायु दिवस, शैक्षिक सम्मेलन तथा भ्रमण बर्ष २०२० मनाउने उद्देश्यले गर्न लागिएको उक्त कार्यक्रममा गत बर्षको झै ७८ वटा झण्डा फहराउने भएका छन् । ७७ वटै जिल्लका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले १ गरि कुल ७८ वटा झण्डोत्तलन गरिने छ । त्यस्तै १२ वटा पालिकाद्वारा छनौट भएका विद्यार्थीहरुबाट वक्तृत्वकला गराईनेछ भने सार्क खेलमा स्वर्णपदकलाई सम्मान गरिने छ ।
सम्पूर्ण कार्यक्रमको आयोजना जिल्ला समन्वयले गरेपनि कार्यक्रमका विभागहरु बनाईएक उनले बताए । उनका अनुसार वक्तृत्वकलाको जिम्मा शिक्षा विकास समन्वय ईकाईले गर्नेछ । झण्डाको लागि स्थानीय संघसंस्थालाई दिएको छ । वक्तृत्वकलाको पुरस्कारको लागि कर्मचारी मिलन केन्द्रले गर्नेछ । हजार वटा टोपी होटल व्यवसायीले गर्नेछ ।
पहिला आर्थिक व्यवस्थापन १२ वटा पालिकामा निर्भर रहेपनि यसपालि भने पालिकामा रहेको शिक्षा शाखा मार्फत मात्र गरिने उनले बताए । एकदिने कार्यक्रम हुने गुफा डाँडामा स्थानीय उत्पादनहरु विभिन्न स्टलहरु बनाएर राखिने उनले बताए । खानाको परिकार फापरको ढिंडो, सिस्नु र लोकल कुखुराको विभिन्न ठाउँमा व्यवस्था गरिएपनि कार्यक्रममा सहभागी व्यक्ति स्वयमले तिनुपर्ने उनले बताए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गत पुष १५, १६ र १७ गते मेलम्ची नगरपालिकाको गुफाडाँडामा जलवायु राष्ट्रिय सम्मेलन गरेको थियो ।
जिसस सिन्धुपाल्चोकको अगुवाइमा भएको उक्त सम्मेलनमा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख भेला गराएर सम्मेलन गरिएको थियो । जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाईमा रहेको छ गुफाडाँडा । जलवायु परिवर्तनका समस्या र असर उपर बृहत छलफल गरी सरकार र सरोकारवालाई समाधानका उपाय सुझाउने उद्देश्यले सम्मेलन गरिएको थियो । यसपटक जलवायु दिवस गुफाडाँडामा मनाएर सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउने लक्षका साथ कार्यक्रम राखिएको समन्वय प्रमुख तामाङले बताए । गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र बातावरण नियाल्न सकिने भएकाले गुफाडाँडा रोजिएको सम्मेलन आयोजनाको अगुवाइ गरिरहेका जिसस प्रमुख तामाङले बताए ।
सम्मेलनमा ७७ जिल्ला समन्वय प्रमुखका साथै सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष, सरकारका सम्वद्ध मन्त्रालय तथा निकायका अधिकारी, जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि र विज्ञलाई सहभागि गराइने प्रमुख तामाङले जनाए । कार्यक्रममा एकहजार भन्दा बढि सहभागि हुने अपेक्षा गरिएको उनले बताए ।