सागगेमका स्वर्णपदक विजेतालाई लिसंखुपाखरद्वारा सम्मान

पुष ९, लिसंखुपाखर (सिन्धुपाल्चोक) । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा सहभागी भइ स्वर्ण पदक विजेता दुई खेलाडीलाई लिसंखुपाखर गाउँपालिकाले सम्मान गरेको छ । गृह गाउँ लिसंखुपाखर रहेका स्वर्णपदक दुई खेलाडीलाई गाउँपालिकाद्वारा नगद सहित आज भव्य सम्मान गरिएको हो ।

साग खेलकुद प्रतियोगीतामा तेक्वान्दोकी स्वर्ण पदक विजेता काजल श्रेष्ठ र जुडोमा स्वर्ण पदक विजेता देविका खड्का सम्मानीत भएका हुन् । उनीहरुलाई गाउँपाकिलाका अध्यक्ष कमल नेपाल र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सम्मान गरेका हुन् । ’खेलाडीहरुलाई प्रोत्साहित गर्न हाम्रै गृह गाउँ भएका दुई खेलाडीलाई पालिकाले सम्मान गर्ने निर्णय गरेका हौं‘, पालिका अध्यक्ष कमल नेपाललले भने ।

लिसंखुपाखर गाउँपालिकाले दुवै स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद सहत सम्मान गरेको हो । स्वर्ण पदक विजेता काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी हुन् भने जुडोकी देविका खडकाको जन्मस्थान झापा भएपनि उनले यसै गाउँपालिका –४ मा विवाह गरेकी थिइन् । आफ्नै गाउँकी चेली र बुहारीलाई थप हौसला प्रदानका लागि गाउँपालिकाद्वारा नगद रू ५०–५० हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।