भोटेकोशी गाउँपालिकाको ७५ प्रतिशत योजना सम्झौता

मंसिर २४, फुलपिङकट्टी । भोटेकोशी गाउँपालिकाले यो आर्थिक वर्षमा पालिका भित्रका योजनाहरु ७५ प्रतिशत सम्झौता सम्पन्न गरेको छ ।
पालिकाको २ वटा वडामा उपभोक्ता समिति मार्फत योजना सम्झाताको काम ७५ प्रतिशत र काम सम्पन्न ५० प्रतिशत भएको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले सिन्धुज्वालाई बताए ।
उनका अनुसार पालिकाको वडा नम्बर १ र २ मा उक्त पतिशतमा योजना सम्झौता सम्पन्न गरिएको हो । त्यस्तै वडा नम्बर ३ र ४ मा ५० प्रतिशत योजना सम्झौता सम्पन्न र ५ नम्बर वडामा २५ प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । यो आर्थिक वर्षमा फागुन सम्ममा काम सम्पन्न तथा चैत्र भित्रमा भुक्तानी गरिसक्ने समेत उनले बताए ।
प्रदेश र संघीय सरकारबाट आएको बजेट भने तोकिएको समयअवधि भन्दा फरक हुने उनले बताए । भोटेकोशी गाउँपालिकामा राजनैतिक दलहरुको सहमति नभएपछि गाउँपालिकाले दर्तावाला समिति बन्न नसकेको उनले खुलासा गरे । गाउँपालिकाले ६ लाख भन्दा माथिका योजनाहरुलाई मात्रै पेश्की दिने गरेको उनले बताए ।