बायोब्रिकेटबाट राम्रो आम्दानी भएपछि जनता आकर्षित

अत्तरपुर (सिन्धुपाल्चोक), सिक्रेकी २२ वर्षिय सिर्जना श्रेष्ठले बायो व्रिकेट उद्योगमा काम गर्न थालेको ३ वर्ष भयो । गाउँमै वायो व्रिकेट उद्योग सुरु भएपछि उनलाई राम्रो रोजगारी भएको छ । उनी मात्र होई गाउँका अन्य महिला पनि घरमा विहान बेलुकाको काम गरेर विक्रेट निर्माणमा आलोपालो जान्छन् । सिर्जनाले मात्रै मासिक १५ हजार सम्म आमदानी गर्छिन ।

उनका बुबा अक्लबहादुरले मित्री काम गरेर मासिक २५ हजार कमाउँछन् । ब्रिकेट बनाउने मजदुरले प्रतिगोटा सानाको २ रुपैया र प्रतिगोटा ठूलाको ३ रुपैंया पाउँछन् । उमेरले ६० नाघेकी सोहीकी बिशु शाक्यले समेत मासिक १२ हजार कमाउँछिन । सो पेशाले घरव्यवहार राम्रो चलेको विशुको भनाई छ । ’घरको ढिंडो खाएरै राम्रो आम्दानी गरेका छौं‘, बायोब्रिकेट बनाउँदै गरेकी विशुले भनिन् । बोल्दे ब्रिकेट उद्योग नाम दिएको उक्त उद्योग स्थानीय शशि शाक्यले नेतृत्व गरेका हुन् । उक्त उद्योगको उनी व्यवस्थापक हुन् । सुरुमा गाउँकै एककिलोमिटर माथि ’सिक्रे ब्रिकेट उद्योग‘ स्थापना गर्न मुख्य भूमिका निर्वाहा गरेका उनले दोस्रो गाउँमै अर्को उद्योग सुरु गरेका हुन् ।

हाल उक्त उद्योगमा ३२ जना शेयर सदस्य छन् । प्रत्येक शेयर सदस्यले ७ हजारका दरले राखेका छन् । उद्योग निर्माण गर्न ४ लाख ५० हजार खर्च लागेकोमा दुई वर्षमै लागत ऋृण चुक्ता गरिएको उनले बताए । उक्त ब्रिकेट निर्माणसंगै हिमालयन नेचुरल कम्पनीले नै लिने गरेको शाक्य बताउँछन् । उनका अनुसार कम्पनीलाई बेच्दा प्रति प्याकेट हाफ (३६वटा) लाई ३ सय ४२ र प्रति प्याकेट फुल (१८ वटा) लाई २ सय ५२ मूल्यमा उक्त कम्पनी संग सम्झौता गरिएको हो । बोल्दे सामुदायिक बनको अनुमति लिएर सञ्चालन गरिएको बायोब्रिकेट उत्पादनले अनुत्पादक रहेको झाडी सुधार हुनुको साथै स्थानीयलाई रोजगारीको सिर्जना भएको शाक्य बताउँछन् । विशेषगरी अस्पतालहरुमा सुत्केरीलाई आगो ताप्न प्रयोग गरिने उक्त ब्रिकेट सानो परिवारलाई खाना पकाउन समेत प्रयोग गरिने उनले बताए । ब्रिकेट बनाउँदा एकभाग चिम्टाईलो माटो तथा ३ भाग कोइला प्रयोग गरिन्छ । स्मरण रहोस अत्तरपुरमा मात्रै ३ वटा बायोब्रिकेट र एउटा धसिङगरे प्रशोधन उद्योग सञ्चालनमा छन् ।