आफ्नै नाममा पालिका भवन बनाउने जिल्लाकै पहिलो बन्यो लिसंखुपाखर

मंसिर २३÷ अत्तरपुर (सिन्धुपाल्चोक), स्थानीय तह गठन भएयता सिन्धुपाल्चोकमा आफ्नै भवन निर्माण गर्ने लिसंखुपाखर पहिलो भएको छ ।
जिल्लाका १२ स्थानीय तहमा अन्य पालिकाले आफ्नो नाममा जग्गा प्रक्रिया थाल्दा लिसंखुपाखरले भने आफ्नै नाममा जग्गाधनी पूर्जा बनाएर भवन निर्माण सम्पन्न गरेको हो । भवन ८० लाख प्रदेश सरकार र बाँकी पालिकाको बजेट गरी १ करोड ४० लाख लागतमा निर्माण थालिएको हो ।

पालिकाको उक्त भवन निर्माण सम्पन्न भएपनि बाहिरी कम्पाण्डको केही काम बाँकी भएकोले भवन उद्घाटन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताए । भवन निर्माण लगभग सकिएको छ, बाहीरी कम्पाण्ड सकिएपछि औपचारिक रुपमा भवन उद्घाटन गरिने उनले बताए । नवनिर्मित भवनको आँगन, फाउन्टेन सहितको पार्किङ, वाउन्ड्री वाल लगाएत संरचना बनाएपछि माघ मसान्त सम्म पालिका कार्यालय नयाँ भवनमा सर्न सकिने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । त्यसको लागि अझै अनुमानित एककरोड लाग्ने प्रमुख प्रशासकीय अधिकृत उनले बताए ।

हाल पालिका कार्यालय रहेको अत्तरपुरमा ३७ रोपनी जग्गा स्थानीयले पालिकालाई निशुल्क दान दिएका हुन् । जसमध्ये हाल १० रोपनीमा उक्त भवन बनेको हो । बाँकी २७ रोपनीमा अर्को सालदेखि नयाँ अत्याधुनिक भवन बन्ने योजना रहेको दुलालले बताए । ’मालपोतमा जग्गाको प्रक्रिया टुङग्याउन केही समय लाग्छ त्यसपछि निर्माण प्रक्रिया सुरु हुन्छ‘,दुलालले भने । स्मरण रहोस पालिकालाई स्थानीयबाट जग्गा दान दिएसंगै प्रक्रिया छिटो टुङ्याएर ठूलो संख्यामा जग्गा प्राप्त गर्ने लिसंखुपाखर पहिलो भएको छ ।