आमा अर्कैसंग, बुबाले आत्महत्या गरे, चार बालबालिकाको बिचल्ली

बाह्रबिसे (सिन्धुपाल्चोक), बाह्रबिसे नगरपालिका वडा नम्बर ५ अन्र्तगत कल्लेरी भिरको बीचमा भुँईतले टिनले छाएको सानो घर छ ।
त्यहाँ कलिला उमेरका ६ वर्ष देखि १२ वर्ष सम्मका चार बालबालिका बस्छन् । न तिनको बाबु–आमा छन् न अरु कोही अविभावक नै । बाबु–आमा बिनाको टुहुरो बनेका चार बालिका यतिबेला संरक्षणको अभावमा पिरोल्लिएका छन् । त्यसमाथि उनीहरुलाई खान लाउन समेत केही छैन् । बाह्रबिसे बजारबाट करिब ३ किमी टाढा भिर पहराको बीचमा रहेको कल्लेरीमा ३÷४ घर रहेपनि टुहुरा बालबालिका भने छुट्टै बस्दै आएका छन् ।
बाह्रबिसे नगपालिकाका मेयर निमफुञ्जो शेर्पाका सल्लाहाकार शितलकुमार मोक्तानका अनुसार ति बालबालिकाका अविभावक (बुबा) कर्णबहादुर थापा वैदेशिक रोजगारीको शिलशिलामा ५ वर्ष अघि दुबई गएका थिए । पाँचवर्षको बीचमा उनले न पैसा कमाउन सके न घर आउन । थापा विदेश गएपछि उनकी श्रीमति सावित्री थापा पनि दुईवर्ष अघि आफ्ना ४ बालबालिका घरमै छाडेर वैदेशिक रोजगारीकै शिलशिलामा श्रीमानको सल्लाहा बेगर दुबई लागिन ।

जब आफ्नी श्रीमति घरमा बालबालिकालाई छाडेर अर्कै पुरुषसंग विदेशमै आएको कर्णबहादुरले थाहा पाए । त्यसपछि उनले सहन नसकी आत्महत्या गरे ।
केही महिनापछि कर्णबहादुरको शव नेपाल पठाएपछि मृतकका आफन्तले बुझे तर मृतक कर्णबहादुरकी श्रीमति सावित्री घर फर्किनन् । तीनछोरा र एकछोरी रहेका थापाका जेठा छोरा साजन १२ वर्षका भएपनि उनले काजक्रिया गर्न सकेनन् साजनकै वृद्व हजुरबुबाले मृतकको काजक्रिया गरे । त्यपछि दुईभाई र एकबहिनीकी अविभावक बने १२ वर्षिय साजन । तर घरमा अन्नपात केही थिएन । बुबा बितेको बेलामा साजनका मावली तथा आफन्तले दिएको चामल समेत सकिएको साजनले बताए । भाईबहिनीलाई खाना खुवाएर स्कुल जाने गरेका साजनले दुईभाई र बहिनीलाई समेत स्कुल पठाउने गरेको बताउँछन् । ’मामाघरबाट ल्याईदिएको चामल सकियो कहिलेकाँही अन्टिकोमा जान्छौं‘, साजनले भने ।

वैदेशिक रोजगारीमा गएकी उनकी आमाले एकपटक फोन समेत नगरेको मलिनो अनुहार लगाउँदै साजनले सिन्धुज्वालासंग भने । गाउँ असाध्यै विकट भएकाले सहयोग गर्न समेत कुनै संघसंस्था पुग्न नसकेको स्थानीय समेत रहेका मोक्तानले बताए । उक्त बालबालिकाहरुको अवस्थाको बारेमा बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पालाई जानकारी गराउँदा उनले आफुले बालबालिकाको शिक्षादिक्षा तथा खानपिनको लागि सहयोग गर्ने बचन दिए । ’बाबु–आमा नभएका त्यस्ता टुहुरा बालबालिकाको भविश्यको लागि मैले सकेको सहयोग गर्छु‘, नगरप्रमुख शेर्पाले भने ।