अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण

१७ मंसिर, बाह्रबिसे (सिन्धुपाल्चोक) । २८ अाैं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवरमा बाह्रबिसे नगरपालिकाले अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा विरण गरेको छ ।
सिन्धु वहिरा संघद्वारा आयोजित अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सिन्धुु बहिरा अाधारभुत विद्यालयका बालबालिकालाई बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा तथा उपमेयर शुशिला पाख्रिनले मंगलबार ज्याकेट वितरण गरेका हुन् ।
३८ बालबालिकाहरुलाई ज्याकेट वितरण गर्दै बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले फरक क्षमता भएका सो विद्यालयका बहिरा बालबालिकाहरुलाई नगरपालिकाले निर्णय नै गरेर जाडोको न्यानो कपडा वितरण गरिएको बताए ।

औपचारिक कार्यक्रमको सन्दर्भमा सम्बोधन गर्दै मेयर शेर्पाले सिन्धु बहिरा आधारभूत विद्यालय सञ्चालनमा व्यवस्थापकीय पाटो निकै राम्रो रहेको भन्दै विद्यालयका शिक्षकशिक्षिकाहरुलाई धन्यवाद समेत दिए । ’तपाईहरुले अपाङ्गता भएका बालबालिकाहरुको क्षमता विकासमा पु¥याउनु भएको योगदानलाई म हृदय देखिनै धन्यवाद दिन चाहान्छु‘, मेयर शेर्पाले भने, ’यहाँको व्यवस्थापन बोर्डिङ स्कुल भन्दा कम छैन ।‘ विद्यालयले बालबालिकाको सिकाई उपलब्धीका साथसाथै च्याउ तथा तरकारी उत्पादन र बाख्रा तथा कुखुरा व्यवसाय समेत सञ्चालन गरेर विद्यालय आत्मनिर्भर बनेकोमा मेयर शेर्पाले धन्यवाद दिए ।

सो विद्यालयमा अध्यानरत बालबालिकाहरुलाई बाह्रबिसे नगरपालिकाले निशुल्क स्वास्थ्य उपचार तथा रोजगारीको सिर्जना गरिदिने उनले बचन दिए । विद्यालयलाई आवश्यक पर्ने सिसि क्यामारा, सोलार बत्ती, साउण्डशिष्टम् तथा च्याउ उत्पादनमा लाग्ने सम्पूर्ण खर्च आफुले सहयोग गर्ने मेयर शेर्पाले बताए । त्यस्तै कार्यक्रममा उपप्रमुख शुशिला पाख्रिनले फरक क्षमता भएका बहिरा अपाङ्गता बालबालिकाहरुलाई राज्यले उचित संरक्षण दिनुपर्ने धारणा राखिन । ’तपाईहरुसंग अथाह प्रतिभा र क्षमता छन् त्यसको हामीले उचित कदर गर्दै आवश्यक सहयोग गर्छौ‘, उपप्रमुख पाख्रिनले भनिन् ।
कार्यक्रममा सो विद्यालयका शिक्षक रमेश नेपालले कान नसुन्ने तथा बोल्न नजान्ने बहिरा अपाङ्गता भएका व्यक्तिलाई ’ख‘ वर्गको अपाङ्गता परिचयपत्र समेत नदिई राज्यले उपेक्षा गरेको मेयर शेर्पासंग दुःखेसो पोखे ।

नेपालकै पहिलो सरकारी स्विकृत प्राप्त उक्त सिन्धु बहिरा आधारभूत विद्यालय २०५६ सालमा स्थापना भएको हो ।
कम्युनिटी एक्सन नेपालले भवन सहित १० रोपनी जग्गा खरिद गरेर सञ्चालनमा आएको उक्त विद्यालय २०७२ सालको भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएपछि पुनर्निर्माण गरिएको विद्यालयकी प्रिन्सिपल मैना कार्कीले सिन्धुज्वालाई बताईन् । उनका अनुसार उक्त आधारभूत विद्यालयमा शिक्षक दरबन्दी स्थायी–१, राहत ४, आया ३ र कार्यालय सहयोगी १ कार्यरत छन् ।

विद्यालयले आफ्नै स्रोतमा तरकारी व्यवसाय, बाख्रा तथा कुखुरा पालनद्वारा विद्यालयलको आर्थिक आम्दानी वृद्वि गरिएको प्रिन्सिपल कार्कीले सुनाईन । बाख्रा पालनबाट गत साल एकलाख ८० हजार आम्दानी गरेको समेत उनले सुनाईन । उक्त विद्यालयले च्याउ उत्पादन सुरु गर्न लागेको उनले बताईन ।
स्मरण रहोस ७ जिल्लाका गरी ३८ जना बालबालिका अध्यानरत उक्त बहिरा आधारभुत विद्यालयमा अधिकांश सिन्धुपाल्चोकका छन् । अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बाह्रबिसे नगरपालिका मेयर शेर्पा सहित विद्यालयका बालबालिका तथा शिक्षक सहभागी भई बाह्रबिसे बजार परिक्रममा समेत गरिएको थियो ।